Skip to content
Prabhu

संकटमा निजी अस्पतालः केही बन्द हुने स्थितिमा, चलाउन नयाँ लगानीकर्ता खोज्दै

 

काठमाडौं । कोभिड अगाडि काठमाडौंको स्टार हस्पिटलको व्यापार वार्षिक २० करोड पनि थिएन । कोभिडपछिका वर्षमा स्टार अस्पतालको व्यापार आर्थिक वर्ष २०७७/७८ मा ९० करोड ३० लाखसम्म पुगेको थियो । आर्थिक वर्ष २०७८/७९ मा ७४ करोड ५० लाखको व्यापार भयो भने गत आर्थिक वर्ष २०७९/८० मा ४५ करोड १० लाखको व्यापार भयो ।

काठमाडौं उपत्यकाको महँगा अस्पतालहरुमा स्टार हस्पिटल पनि एक हो । ८५ करोडको बैंकको ऋण रहेको स्टार हस्पिटल पछिल्लो अवस्थामा व्यापार नहुने समस्यामा परेको छ ।

काठमाडौं उपत्यकाको अर्को निकै चर्चित अस्पताल ह्याम्सको व्यापार आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ३९ करोड थियो । २०७८/७९ मा ह्याम्सको व्यापार १ अर्ब ५५ करोड थियो । २०७६/७७ देखि नयाँ ठाउँमा सरेपछि लगातार व्यापार बढाउँदै गएको ह्याम्सको व्यापार गतवर्ष ओरालो लागेको हो । अवस्था यो वर्ष पनि खासै फरक छैन ।

ललितपुरको अर्को अस्पताल निदान हस्पिटल बन्द जस्तै अवस्थामा पुगेको छ । व्यापार खस्केको तथा नयाँ लगानीकर्ता नआएको कारण निदान बन्द हुने स्थितिमा पुगेको हो ।

अजय मिश्र

निजी क्षेत्रका अस्पतालहरुको व्यवसायमा मन्दी देखिएको छ: प्रमुख कार्यकारी अधिकृतः नर्भिक हस्पिटल

पुरानो बानेश्वरमा ५ अर्बको लगानीमा खुलेको फ्रन्टलाइन अस्पताल सञ्चालनमा आएको १ वर्षमा नयाँ लगानीकर्ताको खोजीमा रहेको छ । २ सय बेडको क्षमतामा रहेको फ्रन्टलाइनमा केही समय डा चक्रराज पाण्डे जोडिएका थिए । तर,पाण्डे छोटो समयमा नै फ्रन्टलाइनसँगको सहकार्यलाई तोडे । काठमाडौंको नोबेल अस्पताल सञ्चालन गर्ने व्यवस्थापन टोलीले फ्रन्टलाइनलाई सञ्चालन गरेको हो । स्रोतका अनुसार अहिले फ्रन्टलाइन नयाँ लगानीकर्ताको खोजीमा रहेको छ ।

काठमाडौंमा रहेका ठूला भनिने निजी अस्पतालको अवस्था स्टार र फ्रन्टलाइनको जस्तो छ । पछिल्लो समय सहकारीका अध्यक्ष मुख्य व्यवस्थापकले सञ्चालन गरेका अस्पताल समेत संकटमा थपिएका छन् ।

निजी क्षेत्रको ठूलो हस्पिटलमा चिनिने नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजय मिश्र निजी क्षेत्रका अस्पतालहरुको व्यवसायमा मन्दी देखिएको बताउँछन् ।

‘निजी अस्पतालको संख्या काठमाडौंमा अत्याधिक बढी भयो, अर्को सरकारी अस्पतालमा पाउने सुविधा राम्रो भयो,’ मिश्रले लगानीन्यूजसँग भने,‘नर्भिकको गतवर्षको तुलनामा वृद्धिदर रोकिएको छ, अरू अस्पतालको अवस्था त्योभन्दा खराब छ ।’

सामाजिक सुरक्षा कोष कार्यक्रमअन्तर्गत निजी अस्पतालमा उपचार गर्दा त्यसको खर्च पाइँदैन । यसबाहेक सरकारी अस्पतालहरुको सुविधा पछिल्लो समय बढेको छ । काठमाडौं उपत्यका बाहिर पनि अस्पतालमा पनि लगानी निकै बढेको छ । जसले गर्दा काठमाडौं उपत्यकामा आउने बिरामी उपत्यका बाहिर नै उपचार गराइरहेका छन् ।

अस्पतालहरुले ऋण लिने बेला रेटिङ गराउने बेला पछिल्लो समय काठमाडौं उपत्यकामा अस्पताल निकै बढी भएको र व्यवसायको जोखिम भएको विश्लेषण दिने गरेका छन् ।

निजी क्षेत्रका अस्पतालहरुमा १ खर्बभन्दा बढी लगानी भएको छ । बैंक तथा वित्तीय संस्थाले मात्र ६६ अर्ब १४ करोड रुपैयाँ अस्पताल क्षेत्रमा कर्जा दिएका छन् ।

७ अर्बको लगानीमा अर्को अस्पताल थपिने क्रममा

काठमाडौं उपत्यकामा निजी क्षेत्रका अस्पतालको व्यापार घटेको बेला ७ अर्बको लगानी रहेको अर्को अस्पताल आउने क्रममा रहेको छ । चितवन मेडिकल कलेजका डा हरिश न्यौपानेको लगानीमा काठमाडौंको तीनकुनेमा ७ अर्बको लगानी हुने गरेर ३ सय बेडको अस्पताल आगामी वर्षसम्म सञ्चालनमा आउने तयारी गरेको हो । जसमा बैंक तथा वित्तीय संस्थाको साढे ५ अर्बको ऋण हुने छ ।

घट्दो व्यापारमा हस्पिटलको आईपीओ तयारी

निजी क्षेत्रका अस्पतालको व्यापार बढ्न नसकेको तथा घट्दो क्रममा रहेको बेला अस्पतालहरु साधारण निष्कासन(आईपीओ)को तयारीमा छन् । आईपीओको तयारीका रहेका अस्पतालमा नर्भिक, ह्याम्स, स्टारलगायतका अस्पताल छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal