Skip to content
Prabhu

तेमाल बृहत् खानेपानी आयोजना अझै लम्बिने संकेत

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको तेमालमा निर्माणाधीन वृहत खानेपानी आयोजनामा सडक निर्माणका कारण क्षति पुगेको छ । सो आयोजनामा करिब ५० लाख रुपैयाँ बराबरको क्षति पुगेको उपभोक्ता समितिले जनाएको छ ।

विसं २०७९ को चैत महिनाभित्र उक्त क्षेत्रका ५५ हजार स्थानीयलाई लक्षित गरी आयोजना सुरु गरिएको थियो । स्थानीयका घरघरमा स्वच्छ खानेपानी पु¥याउन उद्देश्यले सुरु भएको आयोजनाको गति कोरोना महामारी र प्राकृतिक प्रकोपका कारणले सुस्त भएको थियो ।

नमोबुद्धको भकुण्डेदेखि तेमालहुँदै मेच्छे जोड्ने सडक निर्माणका कारण आयोजनाको विस्तारित पाइपलगायत केही भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ । विभिन्न सडक निर्माण आयोजनाका कारण विभिन्न स्थानमा पाइपलगायत सामग्रीमा क्षति पुगेको उपभोक्ता समितिको अध्यक्ष सङ्ग्रामजित लामाले बताए।

‘सडक निर्माणका कारण केही स्थानमा जिआई पाइपसमेत गरी करिब ५० लाख रुपैयाँको खानेपानीका सामग्रीमा क्षति पु¥याइएको प्रारम्भिक अनुमान गरिएको छ, प्राविधिकले क्षतिको विवरण सङ्कलन गर्दै हुनुहुन्छ’, उनले भने । उनका अनुसार खानेपानी आयोजना सञ्चालन भएको तेमाल गाउँपालिका र केही क्षेत्र समेटिएको नमोबुद्ध नगरपालिकामा समितिले पत्रद्वारा क्षतिको जानकारी गराइएको छ ।

समयसीमाभित्र उपभोक्ताको घरघरमा खानेपानी उपलब्ध गराउन नसकिएको अवस्थामा ठेकेदार कम्पनीले भुक्तानी नपाएको भन्दै यसवर्ष पनि आयोजना लम्ब्याएको छ । उक्त आयोजना आठ वर्षअघि कालिका–सिएबी जेभी निर्माण कम्पनीले ठेक्का लिएको थियो । खानेपानी मन्त्रालयबाट करिब पाँच करोड रुपैयाँ भुक्तानी नपाएको जनाउँदै कम्पनीले महिनौँदेखि निर्माणमा आलटाल गरेको उपभोक्ता समितिले जनाएको छ ।

भुक्तानी नपाएपछि आयोजनाका जिम्मेवार व्यक्तिले सम्पन्न गर्नेतर्फ आलटाल गर्दा समय लम्बिएकाले मन्त्रालयमा ताकेता भइरहेको लामाले बताए । उनका अनुसार तेमालको वडा नं २ र ३ मा केही धारा जडान तथा पानी कन्ट्रोलका सामग्री जडानको काम बाँकी छ ।

समितिले गत कात्तिक मसान्त्सम्मा काम सक्न आयोजनालाई भने पनि आलटाल गरिएको हो । आयोजनालाई कोरोनाको दुई लहर र गत साल साउनमा सुनकोशी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पु¥याउँदा उक्त आयोजना करिब एकवर्ष धकेलिएको थियो । लामाले आयोजनाको काम अन्तिम चरणमा पुगेको अर्थात् करिब ९८ प्रतिशत काम सकिएको बताए ।

आयोजनाको पानी प्रशोधनको काम भएको छ, भने करिब तीन हजार पाँच सय उपभोक्तालाई घरमा पानी पुर्याइसकिएको लामाले बताए । उनका अनुसार २३ वट ट्याङ्कीमा पानी परीक्षण भइसकेको छ भने मुख्यलाइन र शाखा लाइनमा पाइप विछ्याउने तथा घरघरमा धाराका सामग्री वितरण भइरहेको छ । साथै, प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमासमेत पानी परीक्षण भइसकेको जनाइएको छ ।

उक्त आयोजनाले नमोबुद्ध नगरपालिका–५ कोटतेमाल र कालीमाटीका करिव नौ सय घर तथा रोशी गाउँपालिका–७ कटुञ्जेस्थित एक सय दश घरपरिवार समेटेको छ । तेमाल क्षेत्रका नौ हजार तीन सय दश परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो । पाइपको मुख्य लाइनअन्तर्गत ५० किलोमिटर उपभोक्ताले खाल्डो ।खनेर विच्छ्या उनुपर्ने सम्झौता अनुसार काम भएको छ । आयोजनाका लागि पाँच करोड रुपैयाँ बराबरको जनश्रमदान भएको लामाले बताए ।

याङ्बेल डाँडामा चार लाख लिटर क्षमताका दुई मुख्य ट्याङ्की निर्माण गरिएको छ । आयोजनाको छुट भएका केही निर्माणको काम गर्न सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट गत पुसमा १० करोड ३४ लाख ४१ हजार रुपैयाँ उपलब्ध भएपछि थप निर्माण काम भएको छ । उक्त आयोजना सम्पन्न भएपछि तेमाल क्षेत्रका ५५ हजार स्थानीयमा खानेपानी उपलब्ध हुनेछ । लिफ्टििङ प्रविधिको उक्त आयोजनाको मुहान सुनकोशी नदी किनारमा छ । गत वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका–२ र ३ को सिमाना सुनकोशी नदी किनार चुखाबेँसीका कटान गरेको थियो ।

त्यससँगै गत साउन १७ र १९ गतेको बाढीले क्षति पु¥याएपछि आयोजनाको मुहान क्षेत्रमा निर्माण लिफ्टिङ ट्याङ्कको जोखिमलाई सुरक्षित गरिएको छ । लामाका अनुसार बाढीले त्यतिबेला आयोजनाको ६० लाख रुपैयाँभन्दा बढी क्षति पुर्याएको थियो भने करोडौंका संरचनालाई जोखिम पुर्याएको थियो । तेमाल क्षेत्रअन्तर्गत तेमाल गाउँपालकाको नौ वटा वडा, नमोबुद्धको तीन वटा वडा तथा रोशी गाउँपालिकाको सात नम्बर वडाका बासिन्दाले उक्त खानेपानी उपभोग गर्न पाउने भएका हुन् ।

विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजनाको काम २०७८ मङ्सिरमा सक्ने लक्ष्य राखिएको थियो । नेपाल सरकार, खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal