Skip to content
Prabhu

भारतमा निर्वाचनअघि सामाजिक खर्च बढाउने र मुलुकलाई उत्पादनको केन्द्र बनाउने मोदीको वाचा

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो भारतीय जनता पार्टी (भाजपा) को चुनावी रणनीति सार्वजनिक गर्दै सामाजिक खर्च बढाउने, पूर्वाधार विकास र भारतलाई विश्वव्यापी उत्पादन केन्द्र बनाउने वाचा गरेका छन्।

मोदी तेस्रो पाँच वर्षको कार्यकालका लागि सत्तामा फर्कने आशामा छन् । उनी तथा भाजपाका अन्य नेताहरूले बहुचरणको आम निर्वाचन सुरु हुनु केही दिनअघि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा आफ्ना वाचाहरू सार्वजनिक गरेका हुन् ।

मोदीले आफ्नो पार्टीको १० वर्षको शासनमा सुरु गरिएका सामाजिक कार्यक्रमहरूलाई विस्तार गर्ने वाचा गरे। यसमा स्वास्थ्य सेवा, खाना पकाउने ग्यास र निःशुल्क अन्नका साथै गरिबहरूका लागि लाखौँ निःशुल्क घरहरू समावेश छन् । उनको सरकारले गरिब किसानहरूलाई प्रतिवर्ष छ हजार भारतीय रुपैयाँ (७३ अमेरिकी डलर) प्रदान गरिरहेको छ ।

प्रधानमन्त्री मोदीले सन् २०१४ मा सत्तामा आएपछि आफ्नो सरकारको नीतिहरूले २५ करोड मानिसलाई गरिबीबाट बाहिर निकालेको बताए । १ अर्ब ४० करोडभन्दा धेरै जनसङ्ख्या भएको भारत विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक हो । भाजपाका अध्यक्ष जे।पी नड्डाले एक प्रतिशतभन्दा कम भारतीय जनता अहिले चरम गरिबीमा बाँचिरहेको बताए ।

भारतमा मुलुकका भिन्नाभिन्नै हिस्सामा भिन्नाभिन्नै मितिमा निर्वाचन हुन्छ । निर्वाचन धेरै सातासम्म जारी रहन्छ । मुलुकको संसद्का लागि मतदान अप्रिल १९ देखि सुरु भएर जुन १ सम्म हुनेछ र नतिजा जुन ४ मा घोषणा गरिनेछ ।

अधिकांश सर्वेक्षणहरूले मोदी र भाजपाको जितको भविष्यवाणी गरेका छन् । यद्यपि विपक्षी कांग्रेस पार्टीले मोदीले भारतको लोकतन्त्रलाई कमजोर बनाएको र धनीहरूको हितलाई समर्थन गरेको तर्क दिएको छ ।

मोदीले मुलुकभर व्यापक प्रचार गरिरहनुभएको छ र सन् २०२७ सम्ममा मुलुकको अर्थतन्त्रलाई करिब २७ खर्ब डलरबाट बढाएर ५० खर्ब डलरसम्म पुर्याउने वाचा गर्नुभएको छ । उनले बेलायती उपनिवेशबाट स्वतन्त्र भएको एक सय वर्षको खुशीयाली मनाउँदै गर्दा सन् २०४७ सम्ममा भारतलाई विकसित मुलुक बन्ने मार्गमा लैजाने पनि वाचा गरेका छन् ।

उनले आइतबार आफ्नो पार्टीले भारतलाई औषधि, ऊर्जा, सेमीकन्डक्टर र पर्यटन उद्योगहरूको केन्द्रका रूपमा विकास गर्ने बताए । भारतले आफ्नो रेलवे, हवाईमार्ग र जलमार्गसहित पूर्वाधारको आधुनिकीकरण गर्ने पनि उनले बताए । साथै उनले युवाहरूका लागि नोकरी बढाउने र युवा उद्यमीहरूका लागि सस्तो ऋणमा पहुँच पुर्याउने उल्लेख गरे । हिन्दूवादी नेताका रूपमा मोदी भारतमा अत्यन्त लोकप्रिय छन् र उनले द्रुत गतिमा आर्थिक विकास गरेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal