Skip to content
Prabhu

सहजपुर–बिपीनगर–बोगटान सडक हस्तान्तरण गरिँदै

कैलाली । सहजपुर–बिपीनगर–बोगटान सडक चालु आर्थिक वर्षभित्रै नेपाल सरकारलाई हस्तान्तरण गरिने भएको छ । सो सडक कालोपत्र गर्ने काम सम्पन्न भएसँगै असारमसान्तभित्रै हस्तान्तरणको तयारी गरिएको हो ।

निर्माणाधीन सहजपुर–बिपीनगर–बोगटान सडकको ५० किलोमिटरमध्ये चुरे गाउँपालिका–१ शिवनगरमा तीन सय ५० मिटर विवादका कारण कालोपत्र हुन नसकेको पिएलआर–कुमार जेभीका आवासीय इञ्जिनियर पुष्पराज भट्टले बताए।

उनले चालु आर्थिक वर्षको असार मसान्तभित्रै उक्त सडक नेपाल सरकारलाई हस्तान्तरणका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको बताए। कैलालीको सहजपुरदेखि डोटीको गाडेबाँजसम्म ५० किलोमिटरमध्ये तीन सय ५० मिटरबाहेक अरु सबै सडक कालोपत्रे गर्ने काम पूरा भइसकेको इञ्जिनियर भट्टले जानकारी दिए ।

आयोजना कार्यालयले दिएको जानकारीअनुसार उक्त सडकखण्डमा सडक बोर्ड मार्किङ दुई महिनाभित्रै सम्पन्न गरिनेछ । उक्त सडकखण्डमा क्षेत्राधिकारको विवाद, रुख कटान अनुमतिमा ढिलाइ, चट्टान, कोरोना महामारीलगायत विभिन्न बाधा व्यवधानका कारणले सडक निर्माण अवधि लम्बिएको इञ्जिनियर भट्टको भनाइ छ ।

विसं २०७५ फागुनमा कैलालीको सहजपुरबाट डोटीको बढीकेदारसम्म ५० किलोमिटर सडक कालोपत्रका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएको थियो । तर सम्झौताको पाँच वर्षपछि सडक निर्माणले पूर्णता पाएको कम्पनीले जनाएको छ । कैलालीको सहजपुरबाट डोटीको बडीकेदार गाडेबाँजसम्म ५० किमी सडक कालोपत्रका लागि २०१८ डिसेम्बर ५ म पिएलआर–कुमार जेभीसँग सम्झौता गरिएको थियो ।

सम्झौतानुसार सन् २०२१ जुन १७ मा सात मिटर चौडा कालोपत्र र कालोपत्रको दायाँबायाँ एक–एक मिटर सोल्जर ९ग्राभेल० सडक निर्माण गरिसक्नुपर्ने हो । तर, निर्माण कम्पनीले विभिन्न समस्या देखाउँदै निर्माण लम्बिँदै गएको जनाएको छ । एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण भएको सो सडक आयोजनाको सम्झौता रकम रु. एक करोड ९६ लाख ९३ हजार तीन सय १२ अमेरिकी डलर रहेको जनाइएको छ ।

विसं २०४३ देखि सहजपुर–बिपीनगर–बोगटान सडकको ट्रयाक खोल्ने काम सुरु गरिएको थियो । कैलालीको सहजपुरबाट सुरु भएको सडक डोटीको बिपीनगर, अत्तरकाँडा, सिमचौर, लाना, चवराचौतारा, गगुडा, तिखात्तर, रानागाउँ हुँदै राजपुर दिपायल जोडिनेछ ।

आयोजना कार्यालयले सहजपुर–बिपीनगर–बोगटान दीपायलसम्म सर्बे गर्ने क्रममा १०८ किलोमिटर सडकको लम्बाइ रहेको जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal