Skip to content
Prabhu

सुरुङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछः प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा बिस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताए ।

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्वपूर्ण उपलब्धि भएको बताए ।

“सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता बिस्तार गरी आवागमनमा सहजता, यातायात लागतमा न्यूनता, भौगोलिक तथा जनसाङ्ख्यिक सन्निकटता र प्रादेशिक सन्तुलन कायम गर्नेगरी सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्यमा यस्ता सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्नेछ’, प्रधानमन्त्री प्रचण्डले भने ।

सुरुङ निर्माणपश्चात् सुरूङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालन खर्च घटाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले ट्राफिक र सडक सुरक्षामा सुधार गरी सङ्घीय राजधानी काठमाडौँ र देशका अन्य प्रमुख सहरबीचको सहज यातायात सञ्जालमा योगदान पु¥याउने बताए ।

‘यस सुरुङमार्गलाई आधार मान्दै नेपाली माटो सुहाउँदो सुरुङसम्बन्धी दस्तावेज निर्माण हुनेछ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यसले नेपाललाई सुरूङ युगमा पु¥याउन महत्त्वपूर्ण योगदान गर्नेछ ।’

उनले आगामी योजनामा राष्ट्रिय राजमार्गहरूमा सुरूङमार्ग, फ्लाइओभर तथा अन्डरपाससहितको आधुनिक सडक सञ्जाल बिस्तार तथा निर्माण गर्ने सरकारको नीति रहने बताए । नयाँ वर्षको सुरूआतसँगै नेपालकै पहिलो सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक–थ्रु’ गर्ने ऐतिहासिक अवसर प्राप्त भएकोप्रति खुशी व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा क्षेत्रमा हुने गरेको ट्राफिक जाम, उकालो सडक, सडक सुरक्षाका हिसाबले कायम रहेको जोखिम साथै वर्षायाममा हुने पहिरोको उच्च जोखिमलगायतका समस्याहरू समाधान गर्न सुरुङमार्गको कल्पना गरिएको बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal