Skip to content
Prabhu

गोरखाका थप दुई अस्पतालमा स्वास्थ्य बिमा सञ्चालन

गोरखा । गोरखाभित्र रहेका थप दुई आधारभूत अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि अनुमति दिइएको छ ।

स्वास्थ्य बीमा बोर्डले भीमसेन थापा गाउँपालिका–६ मास्थित सहिद स्मृति आधारभूत अस्पताल र अजिरकोट गाउँपालिका–३ मा भच्चेकस्थित भच्चेक आधारभूत अस्पताललाई स्वास्थ्य बीमा सञ्चालनको अनुमति दिएको हो ।

अनुमति पाएका दुवै अस्पतालले आगामी जेठ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार सेवा सुरु गर्ने बोर्ड कार्यालय गोरखाका प्रमुख विसाल लौडारीले जानकारी दिए।

‘दुवै अस्पतालले बोर्डले निर्धारण गरेका आवश्यक सबै मापदण्ड पूरा गरेपछि बिमामार्फत उपचार सेवाका लागि सम्झौता भएको छ’, उनले भने, ‘भीमसेनथापा र अजिरकोट गाउँपालिकाका स्वास्थ्य बिमा गराएका व्यक्तिले बिमा नवीकरण गरेपछि स्थानीय अस्पतालबाट सेवा लिन सक्नेछन् ।’

उक्त सेवा सुरु गर्न सहिद स्मृति आधारभूत अस्पतालले एक वर्षअघि नै निवदेन दिएको थियो भने भच्चेक अस्पतालले चार महिनाअघि बोर्डमा निवेदन दिएको थियो । योसँगै जिल्ला भित्रका ११ पालिकामध्ये सातवटा पालिकामा स्वास्थ्य बीमाअन्तर्गतक सेवा केन्द्र पुगेको प्रमुख लौडारीले बताए । उनका अनुसार अझै चारवटा पालिकामा स्वास्थ्य बिमाको सेवा केन्द्र स्थापना हुन बाँकी छन् ।

जिल्लाभित्र यसअघि गोरखा अस्पताल र आँपपीपल अस्पताल तथा मकैसिंह प्राथमिक स्वास्थ्य केन्द्र, जौवारी प्राथामिक स्वास्थ्य केन्द्र र आरुचनौटे प्राथामिक स्वास्थ्य केन्द्र गरी पाँचवटा स्वास्थ्य संस्थामा मात्र स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुँदै आएको थियो ।

विसं २०७४ असारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको गोरखामा अहिलेसम्म एकलाख छ हजार बढी नागरिकले बीमा गराइसकेका प्रमुख लौडारीले जानकारी दिए। ‘अहिलको तथ्याङ्कलाई हेर्दा जिल्लामा झण्डै ४४ प्रतिशतभन्दा बढी नागरिकको स्वास्थ्य बिमामा पहुँच पुगिसकेको छ’, उनले भने, चार हजारभन्दा बढी बिमितको फारम यहीँ महिनाभित्र दर्ताको प्रक्रियामा छ ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal