Skip to content

अर्नाकोट र सिँडेरीबासीलाई सधैँ पानीकै पिरालो

nabil bank
बागलुङ । गाउँ वरपर खानेपानीका पर्याप्त मुहान छैनन् । धारा र कुवा सुक्दै गए । भएको मुहानमा पानी छैन । एक गाग्री पानी भर्नका लागि बागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीयलाई घण्टौँ हिँड्नुपर्छ । गाउँको धारामा पानी आउन छाडेको दशक बढी भयो ।
दिनप्रति दिन खानेपानी अभाव हुँदै गएपछि अर्नाकोटसँगै सिँडेरी र घम्पुका करिब पाँच सय घर परिवार समस्यामा छन् । गाउँ नजिक खानेपानीको मुहान नहुँदा अर्नाकोटका सयौँ नागरिक घण्टौको यात्रा गरेर पानी बोक्न बाध्य छन् ।
पछिल्लो समय उनीहरु घण्टौँको समय एक गाग्री पानी भोक्दैमा बित्ने गरेको गर्छ । खानेपानीको हाहाकार हुँदै गएपछि एउटा धाराबाट ५० घरका नागरिकले पानी उपभोग गर्नुपर्ने बाध्यता छ । खानेपानी भर्नका लागि मध्यरातमै उठेर धारामा पुग्नुपर्छ । विहान को छिटो धारामा पुगेर पहिला पानी भर्ने भन्ने होडबाजी स्थानीयबीच हुने गरेको छ ।
छिटो पुग्न नसके लामो समय लाइन बसेर पालो कुर्नुपर्ने स्थिति छ । करिब एक दशक अगाडि गाउँमा खानेपानीको चरम अभाव बढ्दै गएपछि गाउँमा थुप्रै सिमेन्टका घ्याम्पाहरू निर्माण गरेर आकाशे पानी सङ्कलन गरेर प्रयोग गर्नु पथ्र्यो । घ्याम्पोमा सङ्कलन भएको पानी करिब डेढ महिना पुर्याउनु पर्ने बाध्यता छ ।
यहाँका अधिकांश स्थानीयहरू पानी बोक्नका लागि ढोरपाटन नगरपालिका वडा नम्बर ५ को बसुन्धरा, बाँसखोला र बराहथान जान बाध्य छन् । तर उनीहरुको समस्या अहिलेसम्म पनि सम्बोधन भएको छैन । अर्नाकोट उच्च पडाडी क्षेत्रमा भएको हुँदा खानेपानीको मुहान त्यस वरपर छैन । सानोतिनो भएको  मुहान पनि सक्दै गएका छन् ।
खानेपानी अभाव हुँदा दैनिकी नै कष्टकर बनेको स्थानीय प्रेमबहादुर विकले बताए । बर्खामा सङ्कलन गरेको पानी महिनौसम्म पुर्याउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । उहाँले लामो समय खडेरी परेपछि गाउँमा खानेपानीको हाहाकार मच्चिने बताए । प्लास्टिकका ड्रमहरूको प्रचलन नआउँदा घ्याम्पोमै पानी सङ्कलन गरेर प्रयोग गरेको भन्दै अहिले धेरै घर–घरमा ठूला प्लास्टिकका ड्रमहरू राखेको विकले बताए ।
उनले भने, ‘सरकारले सफा र शुद्ध पानीको नारा लगाउँछ, तर हामीहरूले धमिलो पनि पानी देख्न पाउँदैनौँ, एक गाग्री पानीका लागि दिन बिताउनुपर्छ, हामीहरूले कस्तो नियती भोगिरहेका छौँ, यस क्षेत्रको समस्याबारेमा धेरै पटक नेताहरूलाई सुनायौँ तर कुनै सुनुवाईनै भएन, दुर्गम ठाउँ भए पनि अहिले अरु विकास विस्तारै हुँदैछ, तर खानेपानीको सुविधा भने अझैसम्म आउन सकेन, काम नगरेपछि मान्छेहरूलाई खान लाउन पनि गाह्रो हुन्छ, पानीको दुःखले गर्दा दैनिकी चलाउन पनि सकस भइरहेको छ ।’
गाउँमा पहिला सानो मुहान भए पनि अहिले पानी सुक्दै गएपछि खानेपानी आपूर्तिमा समस्या भएको स्थानीय मनकुमारी सुनार बताए । केही वर्ष अगाडि गाउँमा पानीको हाहाकार मच्चिएपछि युनिका फाउण्डेसनको सहयोगमा निसीखोला गाउँपालिका वडा नम्बर २ बाँसखोलाबाट ती सय ३५ मिटर दुरीमा लिफ्टिङमार्फत खानेपानी आयोजना निर्माण गरिएको थियो ।
यसबाट पनि अहिले पिउने पानी अपर्याप्त भएको उहाँको भनाइ छ । गाउँभन्दा धेरै टाढा खानेपानीको धारो भएको हुँदा आउजाउ गर्दा तीन÷चार घण्टा बित्ने सुनारले बताए । पानीको अभावले गर्दा सरसफाई गर्नदेखि पशुचौपायालाई खुवाउनसमेत निकै गाह्रो भएको दुखेसो पोखे ।
‘यो ठाउँमा निकै खानेपानीको समस्या छ, हामीहरू निकै सस्यामा छौँ, सधैँ खानेपानीकै पिरलो हुन्छ, बारीमा तरकारी लगाउँ, केही खेती गरौँ भने पनि पानीको कारण गर्न पाएका छैनौँ, चामल, नुन त बरु गाडीले बजारबाट ल्याउँछ, पानी भने घण्टौँ लगाएर बोक्नुपर्छ’, उनले भने, ‘यसले गर्दा हामीहरू निकै मर्कामा परेका छौँ, यो ठाउँ खेतीपातीका लागि उर्वर भूमि हो, जुनसुकै खाद्यबाली उत्पादन हुन्छ, तर के गर्ने पानी छैन, कसरी उत्पादन गर्न सकिन्छ र ?’
अर्नाकोट क्षेत्रमा खानेपानीको व्यवस्थापनका लागि धेरै प्रयासहरू भए पनि सफल हुन सकेको छैन । निसीखोला गाउँपालिका–२ का अध्यक्ष कुविर विश्वकर्माले अर्नाकोटदेखि करिब २७ किलोमिटर पश्चिममा रहेको हाँचदह मुहानबाट पाइपमार्फत पानी ल्याउने भने पनि स्थानीयको अवरोधका कारण काम गर्न नसकिएको बताए ।
वडा नम्बर ६ को हाँचदहमा पानी पर्याप्त हुँदा धेरै पटक स्थानीयसँग छलफल गरे पनि पानी ल्याउन नसकेको उनको भनाइ छ । दुई वर्ष अगाडि ढोरपाटन नगरपालिकासँग सहकार्य गरेर फुर्तुङबाट पाइपमार्फत पानी पुर्याए पनि त्यो पर्याप्त नभएको बताए।
‘यहाँ खानेपानीको समस्या वर्षौदेखिको हो, हामीहरूले यो समस्यालाई समाधान गर्न धेरै प्रयासहरू गरिरहेका छौँ, खासगरी अर्नाकोट, सिँडेरी, घम्पु गाउँका पाँच सय घर परिवारले खानेपानीको अभाव भोगिराख्नु भएको छ’, अध्यक्ष विश्वकर्माले भने, ‘यहाँका स्थानीयले प्यास मेटाउने गरी पानी पिउन नपाएको धेरै भयो ।’ उनले अब वडा नम्बर २ बाँसखोलाबाट खानेपानीको व्यवस्थाप गर्ने गरी काम अगाडि बढाएको बताए । यो योजना सफल भयो भने थोरै भए पनि यस ठाउँका नागरिकलाई राहत मिल्ने उनको भनाइ छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime