बाँके । नेपालगन्ज उपमहानगरपालिकाले ई–रिक्सा चालकलाई सवारीचालक परिचयपत्र वितरण सुरु गरेको छ । नेपालगञ्ज उपमहानगरका नगर प्रमुख प्रशान्त विष्टले सुरुआतमा १ सय १७ जनालाई चालक परिचयपत्र वितरण गरे ।
उपमहानगरपालिकाले पछिल्लो समय ई–रिक्सा चालकलाई परिचयपत्र वितरणका साथै बिमा र अभिमुखिकरण कार्यक्रम गर्दै आएको छ । नेपाल ई–रिक्सा व्यवस्थापन समिति प्रालिले ई–रिक्साको व्यवस्थापनको काम गरिरहेको छ ।
ई–रिक्सा चालकको सुरक्षाका लागि परिचयपत्रसहित स्वास्थ्य बीमा गर्ने योजना अगाडि बढाएको नगर प्रमुख विष्टले बताए । उनले भने, ‘नेपालगञ्जमा ई–रिक्साको व्यवस्थापन गर्न जरुरी छ, ई–रिक्सा चालकले नेपालको कानुन अनुसार सुरक्षित भएर काम गर्ने वातावरण पाउनुपर्छ ।’ उनीहरुको पेसागत सुरक्षा र यात्रीको सुरक्षाका लागि कार्यविधि बनाएर काम गरिरहेको उनले भने ।
नेपाल ई–रिक्सा व्यवस्थापन समिति प्रालिका अध्यक्ष कुमारसिंह ठकुरीले ई–रिक्सा चालकलाई विज्ञबाट ट्राफिक नियम तथा बीमाको बारेमा अभिमुखिकरण गर्दै चालक परिचयपत्र वितरण गरिने बताए । नेपालगञ्जमा सञ्चालित ई–रिक्साका चालकलाई बेला ट्राफिक नियमबारेमा सचेतना अभियान थालिएको नेपालगञ्ज अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक प्रवीण आर्चायले बताए ।
प्रतिक्रिया दिनुहोस्