Skip to content
Prabhu

तनहुँमा ७ किलोमिटर सडक कालोपत्रे

तनहुँ । गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र भएको छ ।

जिल्लामा सूचीकृत भएका योजनाअन्तर्गत चालु आवको ९ महिनाको अवधिमा उक्त सडक कालोपत्रे गरिएको हो । यस वर्ष पिसिसी, आरसिसी र कालोपत्रे गरी २६ किमी सडक निर्माण गर्ने लक्ष्य रहेको जिल्ला पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका प्रमुख कृष्ण आचार्यका अनुसार कच्ची सडक १५ किलोमिटर निर्माण गर्ने लक्ष्यअनुरुप हालसम्म चार किमी र २५ हजार घनमिटरको टेवा पर्खालमध्ये एक हजार सात सय घनमिटर पर्खाल निर्माण सम्पन्न भएको छ । ग्राभेल सडक २५ किमी बनाउने लक्ष्यअनुरुप काम भएको, छ किमी, सडक चौडा भएको छ ।
त्यसैगरी कजवे, कल्र्भट निर्माणतर्फ १० योजना सम्पन्न गर्ने लक्ष्य छ । त्यसैगरी झोलुङ्गे पुल तीन र सहरी भवन चारवटा निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालय प्रमुख आचार्यले बताए ।

११ किमी कालोपत्रे गरिँदै

त्यसैगरी, गण्डकी प्रदेशको गौरव आयोजना मानिएको मानपुर–डेडगाउँ–बुलिङटार सडकखण्डको ११ किलोमिटर कालोपत्रे गर्न सुरु गरिएको छ । अब जिल्लाको घिरिङ गाउँपालिका–४ मानपुरदेखि डेढगाउँको सिमानासम्म कालोपत्रे हुनेछ ।

‘अस्फाल्ट प्रविधिको सबैभन्दा राम्रो गुणस्तरको कालोपत्र गरिएको छ’, उनले भने, ‘सडकको चौडाइ सात मिटरको हुनेछ भने सडकमा पाँच मिटरको कालोपत्रे र एक मिटरको नाला निर्माण गरिने छ,’ कार्यालय प्रमुख आचार्यले भने ।

विसं २०५१ मा उक्त सडकको ट्रयाक खुलेको थियो । विसं २०७७ मङ्सिर ५ गतेदेखि त्यस सडकखण्डमा स्तरोन्नतिका काम थालिएको थियो । ४५ करोड १४ लाख ७४ हजार एक सय नौ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले १२ करोड २९ लाख ३२ हजार तीन सय १६ रुपैयाँमा कालोपत्रको ठेक्का पाएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal