Skip to content
Prabhu

धनुषाका एक सय ७३ साना उद्योग तथा व्यवसाय बन्द

जनकपुर । आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०र८१ को नौ महिनामा एक सय ७३ उद्योग तथा व्यवसाय बन्द भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्त उद्योग तथा व्यवसाय बन्द भएका हुन् । ती उद्योगमा कार्यरत करिब दुई हजार मजदुर बेरोजगार भएका छन् । उद्योग बन्द हुँदा करोडौँ घाटा भएको छ । कार्यालयबाट प्राप्त विवरणअनुसार उद्योगतर्फ ६० र वाणिज्यतर्फ एक सय १३ उद्योग तथा व्यवसाय बन्द भएको हो । बन्द भएका ती उद्योगहरुको बन्द हुनु अघि उत्पादित सामग्री समेत बिक्री भएको छैन ।

कार्यालयका सूचना अधिकारी मुकेश कर्णका अनुसार चालु आवको चैत मसान्तसम्म छ सय ६२ वटा नयाँ उद्योग दर्ता भएका छन् । एक हजार छ सय दुई उद्योग नवीकरण भएका छन् । यसैगरी, वाणिज्यतर्फ सात सय ३४ वटा व्यावसायिक फर्म नवीकरण तथा आठ सय ३७ नयाँ व्यावसायिक फर्म दर्ता भएका छन् ।

उद्योग दर्ता तथा नवीकरणबापत कार्यालयले २४ लाख ११ हजार पाँच सय ३० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । वाणिज्यतर्फ दर्ता र नवीकरणबापत रु ५० लाख तीन हजार सात सय ७० गरी कूल ७४ लाख १५ हजार तीन सय राजस्व सङ्कलन गरेको छ । कोरोना महामारीको विश्वव्यापी असर, बैङ्कको ब्याजदरमा वृद्धि तथा आर्थिक तरलताका कारण उद्योगहरु बन्द भइरहेको घरेलु कार्यालयका प्रमुख किशोरीशरण यादवको भनाइ छ ।

व्यवसाय बन्द भएपछि बेरोजगारी बढ्नुका साथै जनकपुरमा व्यावसायिक सटरहरु खाली गरी व्यापारी पलायन हुन थालेका छन् । गत आव २०७९र ८० मा दर्ता भएका उद्योगहरुमध्ये साना उद्योग पाँच सय ३६, लघु उद्योग पाँच सय ९१ तथा घरेलु उद्योग एक गरी एक हजार एक सय २८ उद्योग दर्ता भई सञ्चालनमा थिए । उद्योगहरुको स्थिर तथा चालु पूँजी तीन अर्ब ५५ करोड ८२ लाख ११ हजार नौ सय ९९ रुपैयाँ रहेको जनाइएको छ ।

बजेट अभावका कारण घरेलु कार्यालयले समेत सीपमूलक तालिमहरु सञ्चालन गर्न सकेको छैन ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal