Skip to content
Prabhu

कालोपत्रे गरिएको सडकमा चार महिनामै घाँस उम्रियो

कैलाली । कालोपत्रे गरेको चार महिनामै सडकमा घाँस उम्रिएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–३ को व्यवस्थित नगरमा पुसको अन्तिममा गरिएको कालोपत्र सडकमा घाँस (दुबो) उम्रिएको हो ।

सडकका विभिन्न भागमा कालोपत्रेसमेत उप्किन थालेको छ । निर्धारित समयभन्दा निकै ढिलोगरी निर्माण भएको सडक गुणस्तरहीनसमेत बनेको छ । सडकमा छोटो समयमै भत्किँन र घाँस उम्रिन थालेपछि स्थानीय चिन्तित छन् ।

कालोपत्रे गरिएको सडकको बीच भागमा घाँस उम्रिएपछि स्थानीय आक्रोशित बनेका छन् । वर्षौंदेखि हिलो र धुलो भएको सडकमा आवतजावत गरिरहेका स्थानीय सडक कालोपत्रे भएपछि खुसी भएका थिए । कालोपत्रे गरिएको चार महिना नबित्दै सडकमा घाँस उम्रिन थालेपछि ठेकेदार कम्पनीले गुणस्तरीय काम नगरेको स्थानीय कृष्णप्रसाद देवकोटाको आरोप छ ।

उनले भने, ‘सडक निर्माणका क्रममा नै विभिन्न त्रुटि देखिएको थियो, बेस र सब बेस मिलाउँदा राम्रोसँग काम भएको देखिएन्, त्योबेला हामीहरुले आवाज उठाउँदा कसैले पनि सुनेन् ।’

सडक कालोपत्रे भइरहेका समयमा सम्बन्धित निकायको बेवास्ताका कारण यस्तो अवस्था सिर्जना भएको स्थानीयकोे आरोप छ । ठेकेदार कम्पनी र नगरपालिकाको लापरबाहीकै कारण सडकको छेउछाउदेखि बीच भागमा घाँस उम्रिन थालेको स्थानीय कमल न्यौपानेले बताए । न्यौपानेले भने, ‘सडक निर्माणका क्रममा काम गुणस्तरहिन भइरहेको छ भनेर हामीले जनप्रतिनिधिलाई खबर गर्यौँ तर उनीहरु बेखबर भए।’

प्राविधिक गड्बडीका कारणले नै सडक गुणस्तरहिन भएको लम्कीचुहा–३ का धर्मराज तिमिल्सिना बताउनुहुन्छ । ‘सुरुको समयमा बेस हालेको दुई÷तीन महिनाभित्र कालोपत्र गर्नुपर्ने हो, त्यो गरिएन, बेस हालेको १७÷१८ महिनापछि कालोपत्र गरिँदा यो समस्या आएको हो’, तिमिल्सिनाले भने ।

लम्कीचुहा–३ का वडाध्यक्ष लवबहादुर शाहीले सडक निर्माणमा केही त्रुटि भएको बताए । योजनाको आगत अनुमानअनुसार गुणस्तरीय काम गर्न आफूले ठेकेदारलाई ताकेता गरिरहेको बताए ।

नगरउपप्रमुख जुना चौधरीले कालोपत्र गरेको छोटो समयमै सडकमा घाँस उम्रिएको र कालोपत्रेसमेत उप्किन लागेकाले सड्कको अनुगमन गरेर गुणस्तर जाँचका लागि नमुना ल्याबमा पठाइएको बताए ।

नगर प्रमुख सुशीला शाहीले मापदण्डअनुसार सडक निर्माण नभएको पाइए योजनाअनुसारको रकम भुक्तानी नहुने बताइन् । लम्कीचुहाका इञ्जिनियर प्रशान्त अधिकारीले सो सडकको निर्माण गुणस्तरहिन भएको बताए । उनले भने, ‘सडक कालोपत्र गर्मीका समयमा हुनुपर्ने हो तर भएन ठेकेदाले पुसको अन्तिममा शीतलहर परिरहेका समयमा नै गर्नु पहिलो त्रुटि देखिन्छ ।’

एक हजार दुई सय मिटर लम्बाइ रहेको उक्त सडक निमार्णको जिम्मा सुलभ एण्ड सुस्मीता कन्ट्रक्सन प्रालिले पाएकोे थियो । सुदूपश्चिम प्रदेशको रु ६३ लाख २३ हजार छ सय ३० मा लागत सम्झौता भएको सडक निर्माणको सम्झौता २०७८ कात्तिक १५ गते भएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal