Skip to content

कफीखेती प्रवर्द्धन गर्दै डाँडापारिका दुई गाउँपालिका

nabil bank

 

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्र (महाभारत पर्वत शृङ्खला पारि)मा अवस्थित अति दुर्गम मानिएका दुई गाउँपालिकाले कफीखेती प्रवर्द्धन एवं विस्तारकार्य तीव्र बनाएका छन् ।

चालु आर्थिक वर्षमा महाभारत र खानीखोला गाउँपालिकाले कफीको पकेट क्षेत्र बनाएका छन् भने आउँदो आर्थिक वर्षमा ‘पकेट क्षेत्र’को सङ्ख्या बढाई कफी उत्पादनमा परिचित गाउँपालिका बनाउने योजनामा छन् ।

यी दुई स्थानीय तह सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा ‘अति दुर्गम’मा सूचीकृत गाउँपालिका हुन् । महाभारत गाउँपालिकाले हाल सबै वडामा कफीखेती गर्दै आइरहे पनि छवटा वडा पकेट क्षेत्र बनिसकेका छन् । गाउँपालिका थप दुई वडामा दुई कफी पकेट क्षेत्र बनाउने योजनामा रहेको छ ।

गाउँपालिकाको कृषि शाखाका अनुसार यस वर्ष १ र ७ नम्बर वडामा कफी पकेट क्षेत्र विस्तारका लागि स्थानीय किसानलाई कफीका बिरुवा रोप्दादेखि उत्पादकत्व बढाउने तथा त्यसको बजारीकरणसम्मको विषयमा तालिम दिइएको छ । शाखा प्रमुख खिमबहादुर डाँगीले सोमबार जिल्ला कृषि विकास कार्यालयको समीक्षा कार्यक्रममा कफीखेती गर्न इच्छुक किसानलाई हौसला दिने कार्यक्रमसमेत गाउँपालिकाले गर्दै आइरहेको बताए ।

डाँगीका अनुसार सडकको विकाससँगै कफीखेती गर्ने किसानको सङ्ख्या पनि बढ्दै गएको हो । यस वर्ष पनि गाउँपालिकाको नीति तथा कार्यक्रममा कफी प्रवर्द्धन कार्यक्रम उल्लेख थियो । गाउँपालिकाको वडा नं २, ३, ४, ५, ६ र ८ मा एक–एकवटा पटेक क्षेत्र स्थापना गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले कफीखेतीलाई प्राथमिकता दिई सुरुआतदेखि नै कफीखेती हुने क्षेत्रको सर्वेक्षण गरेर क्रमशः त्यहीअनुसारको योजना बनाएको बताए । उनले भने, ‘आउँदो आवमा स्थानीय किसानको चाहनाअनुसार कफीखेती प्रवर्द्धन एवं विस्तारका लागि आवश्यक बजेट विनियोजन गरिनेछ ।’ उनका अनुसार कफी बिक्रीबाट गाउँपालिकाभित्र वार्षिक ५० हजारदेखि सात–आठ लाखसम्म आम्दानी गर्ने किसान रहेका छन् ।

सर्वेक्षणअनुसार पहिलो प्राथमिकतामा परेको वडा नं २ मा सबैभन्दा बढी कफीखेती भइरहेको गाउँपालिकाको प्रतिवेदनमा उल्लेख छ । त्यसपछि वडा नम्बर ३, ४, ५, ८, ६, ७ र १ मा कफीखेती हुँदै आएको हो । उक्त गाउँपालिकाका हालसम्म करिब एक हजार पाँच सय किसान व्यावसायिक कफीखेतीमा संलग्न रहेका छन् । शाखाका अनुसार गत वर्ष करिब डेड लाख किलो चेरी (कफीको फल) उत्पादन भएको थियो ।

गाउँपालिकाको हाल ७२ हेक्टर अर्थात् एक हजार चार सय ३३ रोपनी जमिनमा कफीखेती भइरहेको छ । गाउँपालिकाले कफी किसानलाई उत्पादनमा आधारित अनुदान दिने कार्यविधिसमेत बनाउने योजना बनाएको छ । यस्तै गाउँपालिकाले गत वर्ष किसानलाई एक लाख कफीका बिरुवा वितरण गरेको थियो भने कफीका दुई नर्सरी स्थापना गरेको छ ।

केही वर्षअघिसम्म खाद्यबालीमा आश्रित खानीखोलाका किसान मकै, कोदो, फापरलगायत बालीले वर्षभरि जीविका धान्न मुस्किल परेपछि दुई वर्षदेखि व्यावसायिक कफीखेतीमा रमाउँदै आएका छन् । खानीखोला–१ हात्तीडाँडाका राजकुमार लामाले चार वर्षअघि नै कफीखेती सुरु गरेका थिए। उनले हाल करिब दश रोपनी क्षेत्रफलमा कफी लगाउनुभएको छ । दुई वर्षदेखि कफीबाट उत्पादन पनि निकालिएको बताउँदै लामाले हाल आठ सय किलो कफी उत्पादन गरी रु तीन लाख आम्दानी गरेका छन् ।

गाउँपालिकाले कफीखेतीलाई प्राथमिकतामा राख्दै दिगो आयस्रोतका रूपमा कफीखेती छनोट गरी चालु आर्थिक वर्षको सुरुआतमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रम अघि सारेको थियो । कार्यक्रमअन्तर्गत कृषक समूह र कृषि सहकारी गरी ११ संस्थामा आबद्ध किसानलाई घोषित अनुदान वितरण कफी किसानलाई प्रोत्साहन गरिएको जनाइएको छ । सबै कृषक समूहलाई पाँच लाख ४५ हजार सात सय ७६ रुपैयाँ वितरण गरिएको थियो ।

चालु आवमा अनुदान कार्यक्रमअनुसार रु ३५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिए । उहाँका अनुसार अनुदान वितरण गरी बाँकी बजेटबाट किसानलाई थप ३५ हजार बिरुवा वितरण गरी नर्सरी प्रवर्द्धनमा लगानी गरिएको छ ।

गाउँपालिकाले यस वर्ष करिब ३० हजार किलो कफी उत्पादन हुने अनुमान गरिएकामा २० हजार किलोमात्रै उत्पादन भएको जनाएको छ । ‘समूहभन्दा बाहिर रहेका किसान समेटेर कफी प्रवर्द्धनमा आउँदो आवमा थप कार्यक्रम बनाउनेछौँ’, अध्यक्ष थिङले भने । उनका अनुसार भौगोलिक विकटताका कारण अन्य नगदे बालीभन्दा कफीको बजारीकरण सजिलो देखिएकाले उक्त खेतीलाई गाउँपालिकाले प्राथमिकतामा राखिएको हो ।

गाउँपालिकाले किसानलाई उत्पादित भएकोमध्ये एक किलो बराबर ३५ रुपैयाँ अनुदान दिँदै आएको छ । विगत १२ वर्षदेखि कफीखेती गर्दै आएका वडा नं ६ का किसान बाबुलाल घलानले गाउँपालिकाबाट अनुदान पाएपछि आफूहरू निकै खुसी भएको बताए । यस वर्ष अनुदान तथा प्राविधिक सहयोग पाउनुभएका उहाँले कफी उत्पादनबाट वार्षिक ३ लाख रुपैयाँ आम्दानी गर्दै आएको थियो । यस वर्ष उनले पाँच सय किलो कफी उत्पादन गरेका छन् ।

यस वर्ष गाउँपालिकाका एक सय ७६ कफी किसानले अनुदान पाएका हुन् । सबैभन्दा बढी मिल्चे साना किसान कृषक समूहले कफी उत्पादन गरेको हो । सो समूहले तीन हजार एक सय ६९ किलो कफी उत्पादन गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi