Skip to content
Prabhu

इलाम-२ मा नेम्वाङ विजयी, रास्वपाका लिम्बुसहित १६ उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयो ।

उनका अनुसार पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम)ले ११ हजार चार सय ५७ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गरेका छन् । मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गर्नुभएको छ ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । यो निर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए ।

रास्वपाका मिलन लिम्बूसहित १६ जनाको जमानत जफत
उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो ।

निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२ को १० प्रतिशत छ हजार आठ सय ४७ भन्दा कम सदर मत पाएका १० राजनीतिक दलका र छ स्वतन्त्र उम्मेदवारको जमान जफत भएको हो । चौथो स्थानमा रहेका रास्वपाका लिम्बूले पाँच हजार ५० मतमात्र पाउनुभएको थियो ।

जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली हुनुहुन्छ । यसैगरी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालको जमानत जफत भएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा “निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ”, भनिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal