Skip to content
Prabhu

निर्माणाधीन पुलको काम समयमा सक्न ताकेता

भोजपुर । समयमा नै निर्माणाधीन अवस्थामा रहेका पुलहरूको निर्माणकार्य सम्पन्न गर्न भोजपुर प्रशासनले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । समयमा पुल नबन्दा दुर्घटनासमेत बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले निर्माणकार्य समयमा नै सम्पन्न गर्न निर्माण व्यवसायी र सरोकारवाला निकायमा दबाब बढाएको हो ।
भोजपुरलाई उदयपुर हुँदै तराईका अन्य जिल्लासँग जोड्न भनेर चुहारस्थित दूधकोसी नदीमा निर्माण सुरु गरिएको पुल हालसम्म पनि निर्माण सम्पन्न भएको छैन । समयमा पुल निर्माण नहुँदा त्यो बाटो यात्रा गर्नेले ठूलो समस्या भोग्नुपरेको छ । मोटरेवल पक्की पुल निर्माणका काम कालिका प्यासिफिक जेभी काठमाडौँले पाएको भए पनि केही काम मात्र भएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटासहितको अनुगमन टोलीले पुल निर्माणस्थलमा पुगेर स्थलगत रूपमा अवस्थासमेत बुझेको छ ।
प्रमुख जिल्ला अधिकारी सापकोटाले भने, ‘भोजपुर र उदयपुर हुँदै तराईका जिल्ला जोड्न निर्माणकार्य थालिएको चुहार पुलको निर्माणकार्य प्रभावकारी हुन सकिरहेको देखिएन, समयमा पुलको निर्माण सम्पन्न गर्न स्थलगत अनुगमनसँगै सम्बन्धित निर्माण कम्पनीलाई परिपत्र गरिएको छ ।’
पुलको अभावमा सवारीसाधन वारिपारि सञ्चालन गर्नुुपर्ने अवस्थाका कारण दुर्घटनासमेत बढ्दै गएका छन्, पुलको अभावमा कम सवारीसाधन चल्ने र यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरेका कारण दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पनि बढ्दै गएको प्रमुख जिल्ला अधिकारी सापकोटाको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयले पुल निर्माण नभएका कारण तराईका जिल्लामा सहज रूपमा आवतजावत गर्न, जिल्लाको दक्षिणी क्षेत्रका बिरामीलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालसम्म लैजान र दैनिक उपभोेग्य सामग्री ल्याउनसमेत समस्या हुने गरेको भन्दै तत्काल प्रभावकारी रूपमा निर्माणकार्य थाल्न निर्माण पक्षका साथै सरोकारवाला निकायलाई परिपत्र गर्दै दबाब बढाएको हो ।
प्रशासनले पुल निर्माणका विषयमा गृह मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्लाका सङ्घ तथा प्रदेशका सांसद, यातायात तथा पूर्वाधार निर्देशनालय इटहरी, सम्बन्धित गाउँपालिकाको पनि ध्यानाकर्षण गराएको छ ।
तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग भएकाले यसले भोजपुरको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको थियो । पुल अलपत्र पर्दा गाउँका कृषि उत्पादनले बजार पाउन सकेका छैनन् । विसं २०७९ कात्तिकसम्ममा निर्माण सम्पन्न गर्नेगरी कालिका प्यासिफिक जेभीले ठेक्का लिएको थियो । समयमा पुल निर्माण नगर्ने ठेकेदार कम्पनीलाई पछिल्लोपटक २०८० असोज १३ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी म्याद थपिएको थियो ।
 २१ करोड २३ लाख १२ हजार चार सय सात रुपैयाँ लागतमा निर्माण थालिएको पुल अलपत्र पर्दा यस क्षेत्रका बासिन्दाले धरानसम्म पुग्न करिब एक सय ५४ किलोमिटर यात्रा गर्नुपर्ने अवस्था छ । करिब ९० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको यो पुलको काम केही प्रतिशतमात्र भएको छ ।
निर्माणका क्रममा भाँचिएको भोजपुरको कावा खोलाको पुल पुनःनिर्माणमा ढिला हुँदा स्थानीय ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । दक्षिणी क्षेत्रको रामप्रसाद राई र हतुवागढी गाउँपालिका जोड्ने सो खोलामा पुल निर्माणका क्रममा भाँचिएको थियो । स्वीस विकास नियोग, एसडिसीको प्राविधिक तथा वित्तीय सहयोगमा निर्माणाधीन मोटरेवल पुलको प्रमुख जिल्ला अधिकारी सापकोटासहितको टोलीले अनुगमन गरेको छ ।
प्रादेशिक सडक पुल सहयोग एकाइ कार्यक्रम इटहरी सुनसरीलाई परिपत्र गर्दै जिल्ला प्रशासन कार्यालयले गुणस्तरीयतामा कमी आई निर्माणाधीन आयोजना चर्किएर भत्किएको पुलको वर्षातको समयभन्दा अगाडि नै पुलको निर्माणकार्य सम्पन्न गर्न लगाउने, निर्माणकार्यमा गुणस्तरीयता कायम गर्ने, सहजीकरण आवश्यक भएका स्थानीय प्रशासनसँग समन्वय गर्नेलगायत विषय समेटेर परिपत्र गरेको हो ।
पुल निर्माण समयमा हुन नसक्दा ज्यानको जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था देखिएको छ । पैदलयात्रुसँगै सवारीसाधनलाई पार गर्न निकै कठिन रहेको स्थानीयको गुनासो छ । मोटरसाइकललाई खोला तार्नका लागि तीन–चार जनासम्म युवा चाहिने जिल्लावासी काजीमान राईको भनाइ छ । राईले भने, ‘वर्षात् सुरु भयो, खोलामा भेल बढ्छ, पुल अभावमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।’
 पाँच करोड रुपैयाँको लगानीमा २०७६ फागुन १२ मा शिलान्यास गरेर पुलको निर्माण थालिएको थियो । करिब ९० प्रतिशत काम सकिएर ढलान गरेपछि पुल बीचमा भाँचिएको थियो । पक्की पुल स्वीस सरकारको सहयोगमा बनिरहेको थियो ।
पुललाई चाँडो निर्माण गराउनका लागि पालिका पनि लागिपरेको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताए । अध्यक्ष राईले भने, ‘हामीले पुल पुनःनिर्माणलाई चाँडो गर्न भनिरहेका छौँ, पुल नहुँदा दक्षिणी भेगका स्थानीयलाई धेरै नै सास्ती छ, यसलाई चाँडो निर्माण सम्पन्न गराउनेमा पहल जारी छ ।’ पुलको पुनःनिर्माण कार्य भइरहेको छ । यहाँ करिब ४५ मिटर लम्बाइ र छ मिटर चौडाइको पुल बन्ने छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal