Skip to content
Prabhu

विश्व बैंकको आर्थिक सहयोगमा त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहोरमुक्त बनाइँदै

 

चितवन । नेपालका पाँच नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले सात स्थानीय तहसँगको सहकार्यमा बागमती नदी, त्रिशूली नदी, राप्ती, कमला नदी र सुनकोसी नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको हो ।

क्याप परियोजनाका कार्यक्रम प्रमुख उज्ज्वल उपाध्यायका अनुसार ती नदीहरुलाई प्लास्टिजन्य फोहरबाट मुक्त बनाउनका लागि ललितपुरको ललितपुर महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका, मकवानपुरको हेटौंडा उपमहानगरपालिका, महोत्तरीको बर्दिवास नगरपालिका, धादिङको गजुरी गाउँपालिका, चितवनको इच्छाकामना गाउँपालिका र सिन्धुलीको गोलान्जोर गाउँपालिकासँगको सहकार्यमा परियोजना सञ्चालन गरिएको हो ।

परियोजनाले स्थानीय पालिकाको सहकार्यमा प्लास्टिकजन्य फोहरले पार्ने असरबारे जनचेतना र व्यवस्थापनका विषयमा विभिन्न कार्यक्रम सञ्चालन गरिने कार्यक्रम प्रमुख उपाध्यायको भनाइ छ । प्लास्टिकजन्य फोहर फाल्न नदिन र फ्याँकिएका फोहर सङ्कलन तथा रिसाइकल गरी नदीलाई सफा र स्वच्छ बनाउने उद्देश्यका साथ यो परियोजना सञ्चालन गरिएको उनले बताए।

प्रमुख उपाध्यायका अनुसार प्लास्टिकको फोहर सङ्कलन संयन्त्रलाई सुदृढ गर्दै र प्राविधिक नवप्रवर्तनमार्फत रिसाइक्लिङ प्रयासलाई बलियो बनाएर ल्यान्डफिल र नदीबाट प्लास्टिकको फोहोरलाई उत्पादन मूल्य शृङ्खलामा लैजाने लक्ष्य छ । चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागि यो कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गरे। प्लास्टिकजन्य फोहरले नदीको सौन्दर्य बिग्रिनुका साथै स्वास्थ्यमा असर गर्ने भन्दै उनले अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

त्रिशूली नदी सरसफाइ अभियानका लागि धादिङको गजुरी गाउँपालिका, चितवनको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकासँग सहकार्य गरिने छ । त्रिशूली नदी आसपासका बजार बस्तीबाट निस्किने प्लास्टिकजन्य फोहोरलाई सङ्कलन गरी त्यसलाई पुनःप्रयोग गरिने छ । स्थानीय तहका लागि प्लास्टिकजन्य फोहोर व्यवस्थापन चुनौती बनेकाले अभियान सञ्चालन गरिएको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal