Skip to content
Prabhu

पानी परेपछि आज विहानैदेखि पोखरा विमानस्थल खुला

काठमाडौँ । आइतबार राति पानी परेपछि सोमबार विहानैदेखि पोखराको विमानस्थल सञ्चालनमा आएको छ । पछिल्लो समय डढेलोका कारण भिजिविलिटी कम हुँदा पोखरास्थित अन्तर्राष्ट्यि विमानस्थल सञ्चालनमा आएको थिएन् । जसका कारण दैनिक तीन हजारभन्दा बढी यात्रु प्रभावित भएका थिए ।

देशका विभिन्न स्थानमा लागेको डढेलोका कारण पोखराको आकाश धुमिल्लँदा भिजिविलिटी पुगेको थिएन । डढेलोकै कारण केही दिन अगाडि मात्रै काठमाडौँ उपत्यकाको वायू प्रदूषण उच्च तहसम्म पुगेको थियो । काठमाडौँ मात्रै होइन डढेलोका कारण मुलुकका विभिन्न स्थान प्रभावित भएका थिए । तर हिजो राति परेको पानीले वायुमण्डलमा देखिएको धुँवा र फोहोर सफा हुँदा भिजिविलिटी बढेको छ ।

डढेलोकै कारण वायु प्रदूषण हुँदा पछिल्लो एक सातादेखि पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन सकेको थिएन । पोखरा विमानस्थलमा विमान अवतरणका लागि कम्तीमा ३५०० मिटरको भिजिविलिटी आवश्यक हुन्छ । तर डढेलोले वायुप्रदूषण हुँदा भिजिविलिटी एक हजारभन्दा माथि जान सकेको थिएन । हाल बुद्ध एयरले मात्रै दैनिक काठमाडौँ–पोखरा–काठमाडौँमा ३४ वटा उडान गर्र्दै आएको छ । त्यसबाहेक भैरहवा–पोखरा–भैरहवा, भरतपुर–पोखरा–भरतपुर र नेपालगञ्ज–पोखरा–नेपालगञ्जमा पनि दैनिक एक/एक उडान भइरहेको छ ।

साथै यति एयरलाइन्सले हाल काठमाडौँ–पोखरा–काठमाडौँमा २२ वटा उडान गरिरहेको छ भने श्री एयरलाइन्सले यस रुटमा दैनिक चार वटा उडान गर्दै आएको छ । त्यसबाहेक पोखराबाट जोमसोमका लागि पनि उडान हुने गरेको छ । डढेलोका कारण यी सबै उडान प्रभावित भएका थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal