Skip to content
Prabhu

पाँचखाल बृहत् खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोक । पाँचखाल नगरमा सञ्चालित बृहत् पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आउँदो असार मसान्तभित्र पाँचखालका छ हजार परिवारका साढे ३१ हजार नागरिकले घरघरमा स्वच्छ पिउने पानी पाउने आयोजनाले जनाएको छ ।

निर्माणाधीन उक्त खानेपानी आयोजनाको भौतिकतर्फ करिब ९५ प्रतिशत सम्पन्न भएको जनाइएको छ । आयोजनाका लागि अपुग रकम नगर विकास कोषले शुक्रबार थप ७ करोड ४३ लाख दुई हजार सात सय ५० रुपैयाँ रकम उपलब्ध गराएको छ । थपिएको रकमका लागि शुक्रबार उपभोक्ता समितिका अध्यक्ष कुमार लामछिानेसहित समिति पदाधिकारी, नगर विकास कोष प्रमुख कृष्णप्रसाद सापकोटा र नगरप्रमुख महेश खरेलबीच त्रिपक्षीय सम्झौता भएको छ ।

उक्त रकमबाट आयोजनाको बाँकी निर्माण पुरा भई आयोजना सम्पन्न हुने समिति अध्यक्ष लामिछानेले बताए । उनका अनुसार हाल योजनाको कार्य अन्तिम चरणमा पुग्दा प्रति सेकेन्ड ८४ लिटर पानी तान्न सफल भएको छ । यस्तै प्रति घण्टा तीन लाख दुई हजार ४०० पानी तान्न सहज ढङ्गबाट सकिने र आयोजनाको लक्ष्य अनुसार लगातार २० घण्टा पानी तान्न सकिने प्रमाणित भएको लामिछानेले बताए । लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने भएको हो ।

यस्तै आयोजनाअन्तर्गत सुनकोशी नदी किनारमा छ वटा इनार, चार÷चार लाख लिटर क्षमताको दुई पानी सङ्कलन ट्याङ्की, तीन लाख लिटरको ब्याकवास ओभरहेड ट्याङ्की, दश नयाँ वितरण ट्याङ्की, छ ब्रेक प्रेशर ट्याङ्की तथा १५ वटा पाले घर निर्माण सम्पन्न भएको छ । पाँच वटा जेनेरेटर राख्ने घर, ट्याङ्की वरपर पर्खाल तथा तारबार लगाउने, छ किलोमिटर पानीको मुख्य प्रशारण लाइन, ३७ किलोमिटर शाखा प्रशारण लाइनमध्ये ३५ किलोमिटर, दुई सय ३० किलोमिटर वितरण पाइप लाइनमध्ये हालसम्म दुई सय २० किलोमिटर पाइप लाइनको काम सम्पन्न भएको जनाइएको छ ।

कुल छ हजार ३७ धारामध्ये हालसम्म तीन हजार पाँच सय धारा जडान, उपभोक्ता समिति भवन, पानी प्रशोधन केन्द्रका सम्पूर्ण कार्य सम्पन्न भइसकेको छ । उनका अनुसार हाल आयोजनाको २४ पानी तान्ने पम्प जडान, सात बिजुलीको ट्रान्सफर्मर जडान, खोलादेखि पानी सङ्कलन केन्द्रसम्मको हाइटेन्सन लाइन बिस्तारको काम सम्पन्न भइसकेको छ ।

सहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच वि.सं. २०७७ असार १५ गते अढाई वर्ष अर्थात् ०७९ माघ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको आयोजनाको काम कोरोना सङ्क्रमण, मेलम्चीमा आएको बाढीका कारण आयोजनाको पूर्वाधारमा क्षति पुर्याएका कारण लम्बिएको हो । यी कारणले पहिलो पटक दश महिना र दोस्रोपटक चार महिना गरी आयोजना सम्पन्न गर्न १४ महिनाको समय थप गरिएको थियो ।

पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० बिमिरेस्थित सुनकोशी नदी किनारमा इनार तथा लिपिm्टङ प्रविधिका भौतिक पूर्वाधार निर्माण गरिएको हो । १ अर्ब ४७ करोड ४३ लाख ६० हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने आयोजनाबाट पाँचखाल नगरपालिकाको वडा नं २, ३, ४, ६,७, ८, ९, १०, ११ र १२ का छ हजार ३७ घरधुरीका हाललाई ३१ हजार चार सय १५ नागरिक लाभान्वित हुनेछन् । जसमध्ये दैनिक प्रतिव्यक्ति एक सय ९२ दशमलव ०५ लिटर पानी दैनिक उपभोग गर्न पाउने प्रक्षेपण गरिएको योजनामा उल्लेख छ । आगामी सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुनेसमेत प्रक्षेपण गरिएको छ ।

आयोजनाका लागि सम्झौता अनुसार दातृ निकाय, नेपाल सरकारको बजेटसँगै कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख पाँच हजार तीन सय परिवारले प्रति परिवार रु १८ हजारका दरले रकम बुझाएका छन् । यस्तै आयोजनाका लागि सम्झौता अनुसार दुई सय १४ उपभोक्ताले सहकारी संस्थाबाटसमेत ऋण लिई खानेपानीका लागि रकम बुझाएका थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal