Skip to content

साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्नेः राष्ट्रपति पौडेल

nabil bank

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्न महत्वपूर्ण योगदान पुर्याउने बताएका छन् ।

भृकुटीमण्डपमा १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले राज्यले साना तथा घरेलु उद्योगको प्रवर्द्धनमा विशेष नीति अवलम्बन गर्नुपर्ने बताए।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा आजदेखि सुरु भएको महोत्सव वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयले स्वदेशी वस्तुको उपभोग निर्देशिका चाँडै ल्याउने तयारी गरिरहेको बताए । उक्त निर्देशिकाले स्वदेशी उत्पादन स्वदेशमै खपत गर्ने राज्यको नीतिमा जोड दिने उनको भनाइ छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई स्वदेशमै रोजगार दिन मन्त्रालयले केही नवीन अवधारणा ल्याउने तयारी गरिरहेको बताए। युवालाई स्वरोजगारमा जोड्न सङ्घीय सरकारको नेतृत्वमा रोजगार मेला आयोजना गरिने उनले जानकारी दिए ।

महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकको अर्थतन्त्र सन्तोषजनक नरहेको गुनासो गर्नुभयो । निर्यातले मात्रै राज्य बाँच्न सक्ने परिस्थिति नहुँदा उद्योग र उत्पादन क्षेत्रमा राज्यले विशेष नीति ल्याउनुपर्नेमा उनले जोड दिए ।

स्वदेशी व्यापारलाई अनलाइनमा पुर्याउन बजेट छुट्याउने, महिला उद्यमीलाई कर छुट गरी प्रोत्साहन गर्ने, हरेक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना र सञ्चालन गर्नेलगायत कार्यक्रम आगामी बजेटमा समावेश गराउन महासङ्घका अध्यक्ष सिंहले सरकारलाई सुझाव दिए । महोत्सवमा घरेलु उद्यमीका दुई सयभन्दा बढी स्टल प्रदर्शनमा राखिएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime