Skip to content
Prabhu

बाँकेको फत्तेपुरका १२६ घरमा स्वच्छ पेयजलको सुविधा

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत एक सय २६ घरमा धारा जडान भएका छन् ।

उक्त कार्यक्रमअन्तर्गत फत्तेपुरको पदनाह, जोरैया, मोहनपुर दक्षिण हब्रहवा, उत्तर हब्रहवा र सिधनिया बस्तीका एक सय २६ घरमा जडान गरिएको फत्तेपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लालबहादुर थापाले जानकारी दिए ।

‘गत वर्ष असारदेखि घरघरमा खानेपानी धारा जडान गरेर स्वच्छ पेयजलको सुविधा पुर्याएका छौं’, अध्यक्ष थापाले भने, ‘यहाँका चार सय घरमा धारा जडान गरेर स्वच्छ पानी पुर्याउने लक्ष्य छ ।’

आर्थिक वर्ष २०७६÷७७ देखि उक्त कार्यक्रम लागु भएको हो । वि।सं २०७८ देखि फत्तेपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरी आयोजनाको काम हुँदै आएको थियो । तीन कठ्ठा जमिनमा खानेपानीको भवन, ट्याङ्की, ‘पम्पहाउस’लगायत संरचना तयार गरी पानी वितरण थालिएको अध्यक्ष थापाले बताए ।

महिना दिनमा १० युनिटसम्म पानी उपभोग गर्ने उपभोक्तालाई १ सय ५० शुल्क कायम गरिएको छ भने १० युनिटभन्दा बढी उपभोग गर्नेलाई प्रतियुनिट २० रुपैयाँका दरले शुल्क लिने गरिएको छ । घरघरमा खानेपानी सुविधा उपलब्ध भएपछि स्थानीयवासी खुसी भएका छन् ।

राप्ती सोनारी–६ कै पनेरियामा पनि खानेपानी आयोजना निर्माणाधीन छ । राप्ती सोनारी–७ निवुवाटार र नन्कौपुरमा पनि खानेपानी आयोजनाको काम जारी छ । ‘पाइप लाइन’ विस्तारको काम सम्पन्न भएसँगै चाँडै धारा जडानको काम सुरु हुने राप्ती सोनारी–७ का वडाध्यक्ष रामलखन थारूले बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal