Skip to content
Prabhu

अर्थतन्त्र लयमा ल्याउन निजी क्षेत्र र सञ्चारमाध्यमले हातेमालो गर्नुपर्छः सरोकारवाला

काठमाडौं । पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएको अप्ठ्यारो अवस्थाको समाधानका लागि निजी क्षेत्र र सञ्चारमाध्यमले हातेमालो गर्नुपर्ने कुरा सरोकारवालाहरूले राखेका छन् । बुधबार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको नेपाल चेम्बर अफ कमर्शका नयाँ पदाधिकारीलाई सम्मान कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधि र सञ्चारमाध्यम सञ्चालकहरूले यस्तो बताएका हुन् ।
इम्सनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्र र सञ्चारमाध्यमले हातेमालो गर्नुपर्ने बताए । पछिल्लो समय अर्थतन्त्रले लय समात्न नसकेको बताउँदै सरकारले यसमा गहिरो भएर लाग्नुपर्ने उनको भनाइ थियो । नेपालको पछिल्ला तथ्यांकहरू प्रस्तुत गर्र्दै उनले अर्थतन्त्रमा देखिएको समस्या र निजी क्षेत्रलाई परेको पीडालाई सञ्चारमाध्यमले बुझेर सोहीअनुसार सरकारी नीतिलाई झक्झक्याउनुपर्ने बताएका हुन् ।
‘हामीले निजी क्षेत्रका समस्याहरू पटक–पटक सरकारसमक्ष सुनाउने तर सरकारले सुनुवाइ नगरिदिने समस्या छ,’ उनले भने, ‘यही समस्याको बीचको समाधानको काम सञ्चारमाध्यमले गरिदिनुपर्छ ।’
यसैगरी कार्यक्रममा चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले पनि निजी क्षेत्र र सञ्चारमाध्यमबीच बलियो सम्बन्ध हुनुपर्ने बताए । उनले कार्यक्रममा विनियोजन विकास बजेट समयमै खर्च नहुँदा १० प्रतिशत मात्रै विकास हुने र ९० प्रतिशत यत्तिकै खर्च हुने अवस्था निम्तिएको बताए । उनले सरकारले यस्तो रकम समयमै भुक्तानी गरिदिँदा उद्योगी व्यवसायीहरूलाई सहज हुने आशा व्यक्त गरे ।
‘निजी क्षेत्रका यस्ता समस्याबीच इम्सनले निजी क्षेत्रलाई प्रवद्र्धन र सरकारलाई झकझक्याउने काम गरिरहनुपर्छ,’ उनले भने, ‘इम्सनलगायतका सञ्चारमाध्यमहरूले निजी क्षेत्रले सरकारलाई दिएका सुझावहरू कार्यान्वयनमा लैजाने वातावरणको निर्माण गरिनुपर्छ ।‘
कार्यक्रममा चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले व्यापार तथा उद्योग क्षेत्रमा देखिएको नैराश्यता अन्त्य गर्न इम्शन आवश्यक हुने बताए । ‘हामी पनि निजी क्षेत्रको हक, हितलाई संरक्षण गर्नेगरी अघि बढेका छौं,’ उनले भने, ‘व्यापार चलेको खण्डमा मिडिया पनि चल्ने हो, हाल व्यापार व्यवसाय ओरालो लागेको अवस्थामा मिडिया पनि दबाबमा छन् । व्यापार व्यवसाय बढेसँगै यो अवस्थामा सुधार आउला ।’
उनले राज्यले देशमा लगानी आओस् र उद्योग कलकारखाना खुलुन भनेर कोशिश गरिरहँदा पनि देशको अहिलेको अवस्थाका कारण उद्योगी व्यवसायीहरू बिदेसिनु पर्नेसम्मको अवस्था आएको बताए ।
कार्यक्रममा इम्सनका अध्यक्ष रामराजा श्रेष्ठले सञ्चारमाध्यमले पनि निजी क्षेत्रले नाफा कमाउने सोच राख्न नहुने र राज्यले पनि निजी क्षेत्रलाई नियन्त्रणकारी भूमिकाले हेर्न नहुने मान्यता राखेको बताए । ‘राज्यले आफूलाई नियन्त्रणकारी निकायका रूपमा मात्रै प्रस्तुत गर्नुहुन्न र निजी क्षेत्रले जसरी पनि नाफा मात्र कमाउने सोच पाल्नु हुन्न भन्नेमा हामी निश्चिन्त छौं राज्यको दिगो विकासका लागि यहाँहरूकै महत्वपूर्ण भूमिका रहन्छ,’ उनले भने, ‘नाफा कमाउँदा हुने गल्तीबापत व्यवसायीलाई जेल हाल्नु हुन्न बरु गल्तीबमोजिमको जरिवाना गर्नुपर्छ तर पक्रेर जेल हालेर लगानीको वातावरण बिगार्न हुन्न भन्ने मान्यता हाम्रो हो ।’ उनले वित्तीय अपराधको सजाय पनि वित्तीय नै हुनुपर्ने निष्कर्ष इम्सनको रहेको बताए ।
कार्यक्रममा इम्सनका महासचिव नारायण पौडेलले इम्सनमा आर्थिक क्षेत्रमा कलम चलाउने २६ सञ्चारमाध्यम रहेको र उनीहरूले करिब ४ सय आर्थिक पत्रकारलाई रोजगारी दिइरहेको बताए । तसर्थ इम्सन पनि निजी क्षेत्रझैं रोजगारदाता संस्था भएको उनको भनाइ थियो । यस्तै इम्सनका उपाध्यक्ष लोचन खतिवडाले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal