Skip to content
Prabhu

लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका(६ स्थित गनापुरमा लागुऔषध कारोबारी पक्राउ गर्न आज प्रहरीले गोली प्रहार गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो, काठमाडौँबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको संयुक्त टोलीले पक्राउ गर्न खोज्दा भागेपछि गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

उनले कोहलपुर नगरपालिका(१२ चप्परगौडी निवासी २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको बताए । परियारको बायाँ खुट्टामा गोली लागेको र उनको अहिले भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

साथै प्रहरीले स्थानीय २७ वर्षीय शरणबहादुर कार्कीलाई पक्राउ गरेको छ । उनीहरुको साथमा रहेको ११४ दशमलव २५ ग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको छ । कार्कीलाई जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा लिइएको छ ।

पक्राउ परेकाहरुलाई लागुऔषध कारोबारसम्बन्धी मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक डाँगीले जानकारी दिए । प्रहरीका अनुसार उनीहरुलाई लागुऔषधको कारोबार गरिरहेको भन्ने सूचना पाएपछि लामो समदेखि प्रहरीले निगरानीमा राखेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal