Skip to content

प्रधानमन्त्रीले चढे पहिलो ‘भेन्यु’, अब नेपालमै बन्यो हुण्डाईको कार

nabil bank

 

काठमाडौं । लक्ष्मी समूह नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता हो ।व्यापारिक घराना लक्ष्मी समूहले नेपालमै हुण्डाईका गाडी उत्पादनका लागि नवलपरासीमा एसेम्ब्लिङ प्लान्टको उद्घाटन गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार नवलपरासी रामग्राम ६ मा रहेको एसेम्ब्ली प्लान्टमा पुगेर उद्घान गर्दै हुन्डाईको एसेम्बल गाडी चढेका छन् ।

प्रधानमन्त्रीले पहिलो उत्पादित भेन्यू गाडी चढेका हुन् । लक्ष्मी मोटर्सका अनुसार प्लान्टबाट पहिलो चरणमा भेन्यु गाडी उत्पादन भएको छ । बजारको मागअनुसार नयाँ मोडलका गाडीहरु उत्पादन गर्दै जाने कम्पनीले जनाएको छ । एक वर्षदेखि एसेम्ब्लिङ निर्माणको काम सुरु भएको थियो । प्लान्टका करिब डेढ अर्ब रुपैयाँ खर्चिएको छ ।

प्रधानमन्त्रीले प्लान्टको उद्घाटन गर्दै अब नेपालीले सस्तोमा गाडी चढ्न पाउने विश्वास व्यक्त गरे । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

एसेम्बीङ प्लान्ट करिब १० बिघा जग्गामा फैलिएको छ । यो प्लान्टको १.५ युनिट पर आवर (युपीएच) क्षमता छ । अर्थात प्लान्टले एक घण्टामा १.५ युनिट गाडी उत्पादन गर्न सक्छ । ‘गाडीको माग कति हुन्छ, त्यसअनुसार हामी सिफ्ट बनाएर उत्पादन गर्छौं,’ लक्ष्मी कन्टिनेन्टलका महाप्रवन्धक दीपक थपलियाले भने, ‘अहिले नै कति उत्पादन गर्नेभन्दा पनि मागअनुसार कति सिफ्ट चलाउने त्यसमा निर्भर हुन्छ ।’

यो प्लान्टबाट १०० भन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् भने २०० जनाभन्दा बढीले रोजगारी पाउने दाबी गरिएको छ ।

कति फरक पर्छ मूल्य ?

गाडी आयात गरेर बेच्नेभन्दा यही उत्पादन गरेर बेच्दा मूल्य घट्ने महाप्रबन्धक थपलियाको दाबी छ । ‘मूल्यमा फरक पर्छ । सस्तो पक्कै हुनेछ । फाइनान्स डिपार्टमेन्टले त्यसलाई हेरिरहेको छ,’ उनले भने, ‘ल्याएर बेच्ने जस्तो भएन । फ्याक्ट्री मोडालिटीमा गयो । फ्याक्ट्री पनि बाँचिरहनुपर्छ । तर गाडी केही सस्तो हुन्छ ।’ यो गाडी २०७६ भदौ पहिलो साता लक्ष्मी ग्रुपले ल्याएर नेपाली बजारमा बिक्री गरिरहेको छ ।

अहिले भेन्यु गाडीको मूल्य ४० लाख ९६ हजार रुपैयाँदेखि ५८ लाख ९६ हजार रुपैयाँसम्म पर्छ । भेन्यु पेट्रोल इन्जिन गाडी हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime