Skip to content
Prabhu

रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट १ करोड लगेको देखियोः छानबिन समिति

 

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनको घटनामा गरिएको पूरक अनुसन्धानमा पनि गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको छ । उनको नामबाट १ करोड रुपैयाँ कर्जा लिएको देखिएको हो ।

पोखरा महानगरले गठन गरेको छानबिन समितिले लामिछानेले ऋण माग फाराम भरेर सहकारीबाट रकम लिएको प्रमाणसहित प्रतिवेदन बुझाएपछि उनले ऋण लिएको पुष्टि भएको हो ।

यसअघि सीबीआईको अनुसन्धानमा लामिछानेलाई क्लिन चिट दिइएको भए पनि पीडितहरूको मागको आधारमा पोखरा महानगरले गठन गरेको छानबिन समितिलले भने लामिछानेले एक करोड ऋण लिएको प्रमाणसहित प्रतिवेदन बुझाएको छ ।

गोर्खा मिडिया नेटवर्कमा जीबी राई अध्यक्ष रहेको बेलामा लामिछाने प्रबन्ध निर्देशक थिए । उनले सूर्यदर्शन सहकारीबाट ३० करोड रुपैयाँ लिएको तमसुक र लामिछाने स्वयंका नाममा खाता खोलेर सहकारीबाट १ करोड रुपैयाँ ऋण निकालेको प्रमाण छानबिन समितिले फेला पारेको छ ।

वित्तीय विश्लेषणका क्रममा फेला परेको कर्जा माग फारामको फोटोकपी प्रतिवेदनमा राखिएको बताइएको छ । रवि लामिछानेको मागअनुसार एक करोड रुपैयाँ गएको र पैसा कहाँ गयो, कुन मितिमा, कुन चेकबाट पैसा गयो भनेर पनि प्रतिवेदनमा लेखिएको छ ।

पोखरा महानगरको छानबिन समिति र सीआईबीको अनुसन्धानले एउटै विषय पुष्टि गरेका छन् । प्रतिवेदनमा सूर्यदर्शनका ८७ ‘शंकास्पद ऋणी’ को सूचीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनको नाम ६ र २६ नम्बरमा, रवि लामिछानेको नाम १९ नम्बरमा, गितेन्द्रबाबु राईको नाम २१ नम्बरमा छ । लामिछानेले चेक तथा नगदबाट एक करोड लिएको देखिएको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal