Skip to content
Prabhu

मुख्यमन्त्री अधिकारीद्वारा मुग्लिन–पोखरा सडक योजना अनुगमन

nabil

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाको आज स्थलगत अनुगमन गरेका छन् । उनले योजनाको पश्चिम खण्डअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा, बेलचौतारामा सडकको कामका बारेमा अनुगमन गरेका हुन् ।

सो अवसरमा मुख्यमन्त्री अधिकारीले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिँदै काममा तीव्रता दिन निर्देशन दिएका छन् । सडक आयोजनाको काम ढिलाइ हुँदा जनतालाई सास्ती भइरहेकोप्रति सचेत रहन मुख्यमन्त्री अधिकारीले आग्रह गरे ।

उक्त खण्डअन्तर्गत शुक्लागण्डकी नगरपालिकामा घर–टहरा भत्काउन ढिलाइ भएको छ । शुक्लागण्डकी नगरपालिकास्थित शेराटारदेखि कोत्रेसम्म सडक मापदण्डभित्र निर्माण गरिएका एक सय ४६ संरचना हटाउन ढिलाइ भएको हो ।

संरचना हटाउने प्रयोजनका लागि रितपूर्वक पेस भएका निवेदकहरुलाई क्षतिपूर्ति वितरणको कार्य प्रारम्भ भए पनि कतिपयले क्षतिपूर्ति रकम लिएर पनि घर भत्काउन ढिलाइ गरेको जनाइएको छ ।

पश्चिम खण्डमा हालसम्म २३ प्रतिशत प्रगति भएको छ । पश्चिम खण्डमा हालसम्म नौ किलोमिटर एकतर्फी कालोपत्र सकिएको छ । जामुनेदेखि पोखरासम्मको ३८ किलोमिटर दूरीमध्ये २० किलोमिटर सडक छ लेनको हुने पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए ।

पश्चिम खण्डका चार ठाउँमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माण गरिनेछ । तनहुँको म्याग्देखोला, कुम्लेखोला, कोत्रेको सेती नदी र विजयपुलमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माणको काम अगाडि बढाइएको छ । पश्चिम खण्डको काम विगतमा केही सुस्त भए पनि अहिले कामले तीव्रता पाएको पौडेलको भनाइ छ ।

पश्चिम खण्डको म्याद अवधि विसं २०८१ भदौ १२ गतेसम्म रहेको छ । यो खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal