Skip to content
Prabhu

बागलुङपानी–भुजुङ सडक स्तरोन्नति हुँदै

लमजुङ । लमजुङको बेँसीसहर–बागलुङपानी–घलेगाउँ–भुजुङ सडकखण्डमा स्तरोन्नतिका काम सुरु भएका छन् ।

यस सडकअन्तर्गत क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ३ घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्म काम सुरूभइरहेको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । कार्यालय प्रमुख इञ्जीनीयर विवेक सिग्देलले सडकअन्तर्गत घलेगाउँसम्म १० किलोमिटरमा कालोपत्र र घलेगाउँदेखि भुजुङसम्मको सात किलोमिटरमा ग्राभेल गर्ने काम भइरहेका जानकारी दिए । ठेकेदारको लापरबाहीका कारण वर्षौदेखि अलपत्र रहेको सो सडकमा गत माघ महिनादेखि काम अगाडि बढेको र हाल कालोपत्रेलगायतका काम भइरहेका उनको भनाइ छ ।

कार्यालयका अनुसार घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्मको सात किलोमिटर सडक ग्राभेल गर्ने गरी कान्छाराम–नाना जेभीसँग विसं २०७६ असोज ३० गते सम्झौता भएको थियो । विसंं २०७८ असोज २९ गतेभित्र सम्पन्न गर्ने भनिए पनि विभिन्न कारणले सोसम्बन्धी कार्य अधुरै थिए । अन्तिमपटकका लागि विसं. २०८० चैत २२ गते पुनः म्याद थप भई आगामी असोजसम्म कार्यसम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इञ्जिनियर सिग्देलले बताए ।

सडक कालोपत्रे तथा ग्राभेलका लागि ३४ करोड ७७ लाख १४ हजार चार सय १० रुपैयाँमा सम्झौता भएको सो योजनामा हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको र रु बीस करोड ४० लाख खर्च भइसकेको सिग्देलले जानकारी दिए।

क्व्होलासोथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले पटक पटकको प्रयासपछि सडकको काम सुरूभएको र सडक निर्माणपछि घलेगाउँ तथा भुजुङमा सञ्चालित घरबासमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भई आर्थिक क्रियाकलापमा समेत बढोत्तरी हुने अपेक्षा गरिएको बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal