Skip to content
Prabhu

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’, लागत ९० करोड

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’ अभियानअन्तर्गत सञ्चालित खानेपानी आयोजना सम्पन्न भएको छ ।

बुधबार एक कार्यक्रमका बीच सम्पन्न खानेपानी आयोजनाको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले उद्घाटन गरे । चेपाङ समुदायको बसोबास रहेको छापडाँडाका ५५ घरमा धारा जडान गरिएका छन् ।

त्यस अवसरमा अध्यक्ष गुरुङले बाँकी रहेका चेपाङ बस्तीमा पनि चाँडै धारा जडान हुने बताए । उनले गाउँपालिकाले सबै वडामा यो अभियान सञ्चालन गरिरहेको भन्दै चेपाङ बस्तीलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिए । उनले छापडाँडा खानेपानी योजना सम्पन्न भएपछि पानी डोकोमा बोक्ने दिनको अन्त्य भएको बताए ।

गाउँपालिका, स्थानीय उपभोक्ता र वाइन टु वाटर नेपाल नामक संस्थाको साझेदारीमा खानेपानी आयोजना सम्पन्न भएको हो । करिब ९० करोड रुपैयाँ कुल लागतको आयोजना निर्धारित समयभन्दा अघिनै सम्पन्न भएको अध्यक्ष गुरुङले बताए । साझेदारी संस्थाको ६५, गाउँपालिकाको २५ र स्थानीयवासीको १० प्रतिशत श्रमदानबाट आयोजना सम्पन्न भएको हो ।

चेपाङ बस्तीमा सडक, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाउँदै अध्यक्ष गुरुङले परिवार सुधार कार्यक्रमअन्तर्गत बस्तीलाई गाउँपालिकाले चेपाङ समुदायको उत्थानका निम्ति सक्दो सहयोग गरिरहेको बताए ।

यहाँ ५५ घरपरिवारसँगै समुदाय र विद्यालयमा पनि एक÷एक वटा धारा जडान गरिएको छ । सात किलोमिटर टाढा रहेको मुहानबाट ल्याइएको पानीको ट्याङ्कीबाट सोह्र घरपरिवारलाई लिफ्ट प्रविधिबाट पानी पुर्याइएको छ । यहाँ रहेका २३ घर परिवारका लागि शौचालय पनि निर्माण गरिएको छ ।

गाउँपालिकाका अन्य ठाउँमा पनि खानेपानीको योजना निर्माणको चरणमा रहेको गाउँपालिका उपाध्यक्ष माया सिलवालले जानकारी दिनुभयो । वडा नम्वर १ को चौकीडाँडा र वडा नम्बर ७ को दाहाखानी दुवै ठाउँमा लिफ्टिङ प्रविधिबाट खानेपानीको योजना कार्यान्वयनमा रहेको उनले बताए ।
वाइन टु वाटरकी राष्ट्रिय निर्देशक रोशनी कार्कीले त्रिपक्षीय साझेदारीमा गरिएको काम समयमै सम्पन्न भएकामा प्रशन्नता प्रकट गर्दैले आधारभूत सुविधामा पहुँच नपुगेका समुदायको जीवनस्तर उठाउन आफ्नो संस्था क्रियाशील रहेकोे बताए ।

वडाध्यक्ष पञ्चबहादुर प्रजाले गाउँमा श्रमदान गर्ने संस्कृति क्रमशः हराउँदै गएकामा चिन्ता व्यक्त गर्दै अन्य आयोजनामा पनि अनिवार्य श्रमदानको व्यवस्था गर्ने सोचमा आपूm रहेको बताए।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal