Skip to content
Prabhu

१० महिनामा वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व संकलन

वीरगञ्ज । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा  ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

साथै उक्त कार्यालयले आर्थिकमन्दीको कारणले बजार सुस्ताएको समयमा पनि लक्ष्यको ६० दशमलव ७२ प्रतिशत राजस्व संकलन गरेको जनाएको छ ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख डा रामप्रसाद मैनालीले चालु आर्थिक वर्षमा समग्र बजार सुस्ताएकाले अपेक्षाकृत रुपमा राजस्व सङ्कलन हुन नसकेको बताए। ‘अहिले समग्र मुलुकको बजार सुस्ताएको छ’, उनले भने, ‘माग कम भएपछि आयात पनि स्वतः घट्ने भयो ।’ भन्सार विभागले कार्यालयलाई चालु आवको १० महिनाको अवधिमा ५४ अर्ब २७ करोड २१ लख ३५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो भने कार्यालयले १० महिनाको अवधिमा भने ४० अर्ब तीन करोड रुपैयाँ संकलन गरेको छ ।

प्रमुख भन्सार अधिकृत मैनालीका अनुसार सुक्खा बन्दरगाहमा सबै सामान कार्गो रेलबाट ढुवानी हुने गरेको छ । विगतमा दैनिक तीनवटा कार्गो रेलबाट मालसमान आउने गरेकामा हाल दुईवटाबाट आउने गरेको छ । कार्गो रेलले एक पटकमा ६० वटा कन्टेनर ल्याउने गरेको छ ।

भन्सार विभागले कार्यालयलाई चालु आवमा ६५ अर्ब ९४ करोड एक लाख २२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकिदिएको भए तापनि कार्यालयले भने चालु आवमा लक्ष्यको ७० प्रतिशतको हाराहारीमा मात्रै राजस्व संकलन हुने जनाइएको छ । प्रमुख भन्सार अधिकृत मैनालीले चालु आवमा आइरन ब्लेड र मदिराजन्य पदार्थको आयात कम भएकाले पनि राजस्व संकलनमा घटेको बताए । ‘यहाँ विशेष गरी औद्योगिक कच्चा पदार्थ आयात हुने गर्छ तर विगतको तुलनमा यो वर्ष औद्योगिक कच्चापदार्थ आयात हुन भएको छैन’, उनले भने, ‘गर्मी याम सुरु हुँदा पनि एसी र छाताजस्ता सामानको आयात बढेको छैन, विगतमा यो सिजनमा एसी र छाताको आयात धेरै हुने गथ्र्यो यो वर्ष एसी र छाताको पनि आयात पनि बढ्न सकेको छैन ।’

कार्यालयले चालु आवको साउन महिनामा रु चार अर्ब सात करोड राजस्व संकलन गर्यो । भदौ महिनामा ४ अर्ब ५७ करोड र असोज महिनामा ४ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । उक्त कार्यालयले कात्तिक महिनामा ३ अर्ब ६३ करोड रुपैयाँ, मङ्सिर महिनामा ४ अर्ब २८ करोड रुपैयाँ, पुस महिनामा ३ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गर्यो । कार्यालयले माघ महिनामा ३ अर्ब ७४ करोड रुपैयाँ, फागुन महिनामा ३ अर्ब ६२ करोड रुपैयाँ, चैत महिनामा ४ अर्ब २८ करोड र वैशाख महिनामा ३ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

भन्सार विभागले कार्यालयलाई गत आवमा ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो तर उक्त कार्यालयले ४२ अर्ब ४० करोड २२ लाख ९३ हजार रुपैयाँ मात्र संकलन गरेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal