Skip to content
Prabhu

पर्यटन प्रवर्द्धनका लागि आजदेखि ताप्लेजुङ पर्यटन महोत्सव सुरु

ताप्लेजुङ । ताप्लेजुङमा पर्यटन प्रवर्द्धनका लागि आजदेखि ‘पर्यटन महोत्सव’ सुरु भएको छ । यही जेठ ७ गतेसम्म सञ्चालन हुने महोत्सवले पर्यटक प्रवर्द्धन गर्नुका साथै स्थानीय कला, संस्कृति तथा वस्तुको प्रचारप्रसार गर्ने उद्देश्य राखेको छ ।

जिल्ला तथा नेपालकै प्रसिद्ध तीर्थस्थल पाथीभरा, कञ्चजङ्घा, फुङफुङेलगायत पर्यटकीय स्थानको प्रचारप्रसार तथा पहिचानका लागि महोत्सव अयोजना गरिएको महोत्सव सञ्चालन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले बताए । ‘विसं २०६३ देखि सञ्चालन भएको पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव कोरोनाका कारण बीचमा दुई वर्षसम्म हुन सकेन’, उनले भने ।

यस वर्ष विगतका वर्षमा झै म्याराथन हुने सञ्चालक समितिका सदस्यसचिव देवराज गुरुङले बताए । उनका अनुसार आज पहिलो दिन उद्घाटन र अन्तरपालिकास्तरीय चौथो मेयरकप भलिबल प्रतियोगिता हुनेछ ।

महोत्सवमा कृषिमेला प्रदर्शनी, औद्योगिक हस्तकला, खाद्य परिकार महोत्सव, डोको क्यारी रन (पुरुष), टपरी बुन्ने, डोको बुन्ने, वक्तृत्वकला प्रतियोगिता, लोक सांस्कृतिक कार्यक्रम गरिने आयोजक समितिका संयोजक लामाले जानकारी दिए । उनका अनुसार म्याराथन दौड तथा हाफ महिला म्याराथन दौडसमेत हुनेछ ।

पाथीभरा म्याराथन, पर्यटन महोत्सव तथा विभिन्न कार्यक्रमका लागि करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको गुरुङले बताए । पर्यटन मन्त्रालय र पर्यटन बोर्डबाट २० लाख रुपैयाँ बजेट माग गरिएको भन्दै बाँकी रकम विभिन्न दाता सङ्घसंस्थाबाट जुटाइने उनको भनाइ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal