Skip to content
Prabhu

सरकारको प्राथमिकतामा कर्णाली र सुदूरपश्चिम प्रदेशः मन्त्री भण्डारी

बैतडी , उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले कर्णाली र सुदूरपश्चिमलाई प्राथमिकतामा राखेको बताएका छन् । बैतडीको देहिमाडौंमा आज अन्तरपालिका महिला तथा पुरूष भलिबल प्रतियोगिताको उद्घाटनका अवसरमा मन्त्री भण्डारीले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेको बताए ।

उनले भने, ‘सुदूरपश्चिम र कर्णाली प्रदेशमा जडीबुटी र खानीसम्बन्धी थुप्रै सम्भावना छन्, ती सम्भावना खोजी गर्ने र उद्योग सञ्चालनको विषयलाई नीति तथा कार्यक्रममा राखिएको छ ।’ सरकारको अहिलेको प्राथमिकता विदेश पलायन हुने युवालाई स्वदेशमै रहने वातावरण सिर्जना गर्नु रहेको उनको भनाइ थियो । उनले भने, ‘हामीकहाँ सम्भावना धेरै छन् । कृषि, उद्योग र उद्ममशिलता अहिलेको प्राथमिकता हो । युवाहरूलाई उद्यमशिलतालाई सरकारले नीति तथा कार्यक्रम समेटेको पनि छ ।’

सुदूरपश्चिमका खानीहरूको अध्ययनका लागि प्राविधिक टोली पठाइएको बताउँदै मन्त्री भण्डारीले बैतडीको फस्फोराइट खानी, बैतडीमा सिमेन्ट उद्योग सञ्चालन गर्न आइएमई ग्रुपसँग छलफल भइरहेको बताए । उनले भने, ‘विकासमा पछाडि परेको सुदूर र कर्णाली प्राथमिकतामा छ । दैजी छेला औद्योगिक क्षेत्र, दोधाराचाँदनी सुक्खा बन्दरगाह, पश्चिम सेती आयोजना अगाडि बढाइँदैछ । बैतडीका सबै पालिकामा जडीबुटी पहुँचमार्ग बिस्तार गरिनेछ ।’

फरक प्रसङ्गमा उनले विपक्षी दलले सदनलाई बन्धन बनाएको बताए । उनले भने, ‘सरकारको आगामी आवका नीति तथा कार्यक्रम प्रस्तुत भएपछि नेपाली कांग्रेसले संसद् अवरुद्ध गरेको छ । संसदीय छानबिन समिति बनाउनुपर्ने माग सदन चल्न दिएर पनि उठाउन सकिन्छ । संसद अवरुद्ध हुँदा जनजीविकाका सवाल संसद्मा उठ्न सकेका छैनन् । थुप्रै कानुनहरू अगाडि बढ्न सकेका छैनन् । राष्ट्रिय मुद्दा ओझेलमा परेका छन् ।’

नेपाल खेलकुद महासङ्घको आयोजनामा सुरू भएको अन्तरपालिका भलिबल प्रतियोगितामा जिल्लाका स्थानीय तहका टोलीको सहभागिता छ । प्रतियोगिताको प्रथम पुरुस्कार ७७ हजार सात सय ७७ रुपैयाँ, दोस्रो पुरुस्कार ५५ हजार पाँच सय ५५, तेस्रो पुरुस्कार ४४ हजार चार सय ४४ र सान्त्वना पुरुस्कार ३३ हजार तीन सय ३३ रुपैयाँ रहेको नेपाल खेलकुद महासङ्घ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal