Skip to content
Prabhu

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

दाङ । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा हुनुहुन्छ । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा यही व्यवसायमा रमाउँदै आएका छन् । मगर कपिलवस्तुबाट दाङसम्म झरेको २५ वर्ष भएको छ । आफूमा भएको सीपलाई आयआर्जनसँग जोड्न पाउँदा उनले खुसी व्यक्त गरे।

वित्तीय संस्थाबाट रु तीन लाख कर्जा लिएर सुरु गरेको श्रीजनशील मूर्ति उद्योगले अहिले मगर परिवारलाई आत्मनिर्भरसमेत बनाएको छ । आफ्नो जीवन चित्रकला र मूर्तिकलामै समर्पित गर्न तथा यसैलाई जीविकोपार्जनको माध्यम बनाउन चाहेको उनले बताए । हालसम्मको अनुभवबाट आफ्नो कला जीविकोपार्जनको भरपर्दो माध्यम हुन्छ भन्ने विश्वास भएको मगरको भनाइ छ ।

‘जिल्लामा सङ्ग्रहालय र उद्यान बन्ने क्रम बढेको छ । ठूला होटल र पार्टी प्यालेसले पनि विशेष कलाको खोजी गर्न थालेका छन्’, उनले भने, ‘आकर्षक भौतिक पूर्वाधार बढ्दै जाँदा कलाको बजार पनि फराकिलो हुँदै गएको छ । आफूले अहिले मागअनुसारको मूर्ति बनाउँदै आएको उनले बताए ।’

यही व्यवसायबाट मगरले वार्षिक १३ लाख रुपैयाँको कारोबार गर्दै आएको छ । यसबाट छोराछोरीको पढाइ खर्च र घरायसी कामकाजमा खर्च हुने हुँदा बचत त्यति धेरै नहुने उनले बताए । मगरले विभिन्न खालका मूर्ति निर्माणका लागि कच्चा पदार्थ बुटवलबाट ल्याउने गरेका छन् । पछिल्लो समय यसको माग बढ्दै जाँदा व्यवसाय राम्रो हुँदै गएको उनको अनुभव रहेको छ । यहाँ उत्पादित मूर्ति दाङसहित रोल्पा, सल्यान, प्युठान, रुकुमलगायत जिल्लामा बिक्री गर्न लैजाने गरिएको छ ।

मूर्तिकला व्यवसायमा महिलाको सहभागिता कमै देखिन्छ । तर पल्टुरामकी श्रीमती जानकी पनि लामो समयदेखि मूर्तिकला व्यवसायमै व्यस्त छन् । उनीसँगै श्रीमान् र छोराछोरी सबै सालिक तथा मूर्ति निमार्ण गरिरहेको छ । सन्तानले बुबाआमाको सिको पनि गरिरहेका छन् । आफ्नो रुचि र स्वध्ययनले छोराछोरी पनि मूर्तिकलामा लागेपछि मगर दम्पती खुसी छन् ।

जानकीको दैनिकी सालिक तथा देवीदेवता र जनावरका आकर्षक मूर्ति तयार गर्नमा बित्छन् । उनको परिवारलाई नै मूर्ति बनाउन भ्याइनभ्याइ छ । पहिले पशुपालन गर्ने जानकी श्रीमान्को मूर्तिकलाको सीप देखेर आफूले पनि सिको गरी श्रीमान्कै जस्तै दिनभर मूर्ति निर्माण गर्छन्।

जानकी र पल्टुरामका सन्तान पनि मूर्तिकलाप्रति चासो राख्नुहुन्छ । सुदृढ र व्यावसायिक मूर्तिकार बन्न छोरी कृतिले यही सम्बन्धि उच्च शिक्षा हासिल गरिरहेको बताए बुबा पल्टुराम । उद्योगमा पत्थर, सिमेन्ट, मार्बल, फाइबरबाट मूर्ति निमार्णसँगै बिक्री भइरहेका छन् ।

न्यूनतम ३ हजारदेखि अधिकतम ३ लाख रुपैयाँसम्ममा मूर्ति तयार हुन्छन् । कक्षा ९ मा अध्ययनरत छोरा प्रवीण पनि फुर्सदमा घरमै बुबाआमाको सिको गरिरहेका छन् । उनी चित्रकला र मूर्तिकला दुवै मन पराउँछन् । यसरी आफ्नो पेसा पुस्ता हस्तान्तरण गर्दै जाने र रुचि, ज्ञान सीपसहित मूर्ति व्यवसायमा लाग्ने हो भने परम्परागत पेसाको संरक्षणसँगै आर्थिकरुपमा सबल बन्न सकिन्छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal