Skip to content

काठमाडौं महानगरपालिकाद्वारा न्यायसंवाद कार्यक्रम सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यायसंवाद कार्यक्रम सुरु गरेको छ । कामपाको न्याय निरुपणका बारेमा जानकारी दिने मुख्य उद्देश्यका साथ उक्त कार्यक्रम सुरु गरिएको हो कामपाले जनाएको छ ।

कामपाको सूचना अधिकारी वसन्त आचार्यका अनुसार न्यायिक समितिको निर्णयअनुसार प्रत्येक वडामा रहेको वडा महिला सञ्जाल रहेकाले उक्त सञ्जालमार्फत न्याय संवाद कार्यक्रम सुरु गरिएको हो ।

यस कार्यक्रमको मुख्य उद्देश्य कामपाले कस्ताकस्ता किसिमका न्याय निरुपणको काम गर्छ, कुन विषयसँग सम्बन्धित न्याय पाउनका लागि केन्द्रमा जाने, कुन विषयको न्याय वडामार्फत नै हुन्छ भन्नेबारे नागरिकलाई जानकारी दिनु रहेको सूचना अधिकारी आचार्यले बताए ।

कामपामा केकस्ता कानुन रहेका छन्, वडाबाट कुनकुन कानुनी सेवा प्राप्त हुन्छ, उजुरीहरु कहाँ दर्ता गर्ने, अन्याएमा पर्दा कुन विषय लिएर महानगरमा आउने र कुन विषयका बारेमा प्रहरीसमक्ष जाने, कुन विषयमा अदालत जाने र समग्र कामपाले दिने सेवाका बारेमा जानकारी दिनका लागि कार्यक्रम थालिएको सूचना अधिकारी आचार्यले जानकारी दिए । उनका अनुसार कार्यक्रम वडा १५ बाट सुरु भइसकेको छ ।

कामपामा रहेका ३२ वटै वडामा यो कार्यक्रम विस्तार गर्ने तयारी गरिएको आचार्यले जानकारी दिए । ‘न्यायलाई अहिले स्थानीयकरण गरेकाले पनि नागरिकलाई समग्रपक्षका बारेमा जानकारी दिनु आवश्यक छ’, उनले भने, ‘अहिले वडामा नै मेलमिलाप केन्द्र, मेलमिलाप सहजकर्ता तथा न्यायिक सहजकर्ता छन् ।’

विवाद सिर्जना हुनबाट बचाउनका लागि सचेतना कार्यक्रम, सिर्जना भएका विवादलाई परिवार र टोलमै मिलाउन प्रोत्साहन, यहाँबाट मिल्न नसकेको विवाद वडाको महिला सञ्जालमै मिल्न सकुन् । यसबाट दुवै पक्षले लाभ पाउन सकुन् भन्ने अभिलाषा राखेर कामपाले यस कार्यक्रम थालेको हो ।

महिला सञ्जालले लिखित र मौखिक दुवै प्रकारका विवाद ग्रहण गर्ने गरेको कामपा महिला सञ्जालकी संयोजक मैयाँलक्ष्मी महर्जनले बताए । उनले भने, ‘प्रकृतिका आधारमा मेलमिलाप गराउने वा नगराउने निर्णय गर्छौं ।’

महर्जनका अनुसार वडामा आउने विवादमा, जग्गा मिचेको, कोठा खाली गराउनुपर्ने, अदालत वा महानगरपालिकाले गरेको फैसला कार्यान्वयन गराइ पाउन, लेनदेन व्यवहार, पारिश्रमिक दिलाइ पाउने, व्यावसायिक क्रियाकलापले बस्तीमा असर गरेको, सम्बन्धविच्छेद, पारिवारिक विवाद, छिमेकीले कानुन मिचेर झ्याल राखेकोलगायत रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life