Skip to content
Prabhu

मापदण्डअनुसार सञ्चालन नभएकाले काठमाडौं उपत्यकाका ४ ट्रायल सेन्टर बन्द

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार उपत्यकाका चारवटा ट्रायल सेन्टरहरूले बिहीबारदेखि सवारीचालक अनुमति पत्रका लागि लिने प्रयोगात्मक परीक्षा (ट्रायल)को सेवा बन्द गरेका छन्। राष्ट्रिय सतर्कता केन्द्रका अनुसार केन्द्रको निर्देशनपछि इजी वे ट्रायल सेन्टर राधेराधे भक्तपुर, भेइकल एकेडेमी तथा रिसर्च सेन्टर प्रालि गुर्जुधारा, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालि गोकर्णेश्वर, सुजुकी ड्राइभिङ स्कुल प्रालि, एकान्तकुनाले बिहीबारदेखि ट्रायल परीक्षा बन्द गरेका छन्।

उक्त ट्रायल सेन्टर बन्द हुँदा लिखित परीक्षा पास भई प्रयोगात्मक परीक्षाको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन्। बिहीबार उपत्यकाका चारवटा सेन्टरबाट दुई हजार परीक्षार्थीको प्रयोगात्मक परीक्षा लिने तयारी थियो। तर, प्रयोगात्मक परीक्षा लिन उपत्यका ट्राफिक कार्यालयले आफ्ना प्रतिनिधि नपठाएपछि ट्रायल सेन्टरहरूले अकस्मात् प्रयोगात्मक परीक्षा बन्द गरेका थिए।

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाले राष्ट्रिय सतर्कता कन्द्रको निर्देशनअनुसार अर्को सूचना प्रकाशित नभएसम्म उपत्यकाका ती सेन्टर बन्द गरिएको बताए। ‘केन्द्रले हामीलाई पठाएको चिठीअनुसार हामीले प्राविधिक टोली बनाएर सेन्टरहरूको जाँच गर्दै छौं। टोलीले प्रतिवेदन नदिएसम्म परीक्षा बन्द गरेका छौं,’ निरौलाले भने, ‘टोलीले मापदण्डअनुसार ट्रायल सेन्टरले मापदण्ड पूरा गरे  नगरेको विषयमा जाँच गर्नेछ। त्यसपछि केन्द्रसँग समन्वय गरेर ट्रायल खोल्ने छौं।’

केन्द्रले यसअघि तोकिएको निर्देशिकाविपरीत सञ्चालन भइरहेका ट्रायल सेन्टरहरूलाई तोकिएको मापदण्डअनुसार हुबहु सञ्चालन गर्न या बन्द गर्न निर्देशन दिएको थियो।

साथै, केन्द्रले अख्तियार दुररुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, बागमती प्रदेश मुख्यमन्त्री कार्यालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेश, यातायात व्यवस्था विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथ, जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरलाई बोधार्थ दिएको थियो।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal