Skip to content
Prabhu

नेपालको संस्कृति चिनाउन अमेरिकामा सांस्कृतिक कार्यक्रम

टेक्सास । नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन आइतबार अमेरिकाको न्यूयोर्कमा ‘नेपाल डे परेड’ को आयोजना गरिएको छ ।

गैरआवासीय नेपाली सङ्घ, अमेरिका न्यूयोर्क च्याप्टरको आयोजना तथा नेपाली समुदायका विभिन्न सङ्घ/संस्थाको सहभागितामा आयोजना गरिएको कार्यक्रममा नेपालका सातवटै प्रदेशका कला, संस्कृति झल्किने विभिन्न झाँकीका साथै पर्यटकीय गन्तव्यको प्रदर्शनीसमेत गरिएको थियो ।

कार्यक्रममा सुदूरपश्चिमेली समुदायको सांस्कृतिक बाजा दमाहा, झाँकी र डेउडा कार्यक्रमको आकर्षण बनेको थियो । सांस्कृतिक झाँकीसहितको ¥याली र बाजागाजासहित न्यूयोर्कको म्यानहाटन सहर परिक्रमा गरी समारोहको आयोजना गरिएको थियो ।

कार्यक्रममा सहभागी न्यूयोर्क सिटीका प्रमुख इरिक एडम्सले नेपाल एक पटक घुम्नै पर्ने ठाउँ रहेको बताए । नेपालका कला संस्कृतिको बारेमा आफू जानकार रहेको बताउँदै उनले न्यूयोर्क सिटीलाई विविध संस्कृतिको सहर बनाउन नेपाली समुदायको समेत योगदान रहेको धारणा व्यक्त गरे ।

त्यसअवसरमा अमेरिकी सिनेटर चक सुमरले उत्कृष्ट कला, संस्कृति हेर्न नेपाल घुम्नै पर्ने र कार्यक्रममा प्रस्तुत गरिएका सांस्कृतिक झाँकीबाट आफू प्रभावित भएको बताए ।

कार्यक्रममा नेपाली महावाणिज्यदूत विष्णु अधिकारी, नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठ, गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष डा अर्जुन बन्जाडेलगायत नेपाली समुदायका अगुवाको सहभागिता रहेको थियो । कार्यक्रममा न्यूयोर्कलगायत न्यूजर्सी र कनेक्टिकट राज्यबाट पनि नेपाली एवम् नेपालीमूलका अमेरिकीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

नेपाली जनसम्पर्क समिति अमेरिका, प्रवासी नेपाली मञ्च तथा आदिवासी जनजाती महासङ्घको पहलमा सन् २०१६ मा सुरू भएको ‘नेपाल डे परेड’ कार्यक्रम हरेक वर्ष आयोजना हुँदै आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal