Skip to content
Prabhu

१० महिनामा १ खर्ब बढीको डिजेल आयात, यी हुन धेरै आयात भएका १० वस्तु

काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को १० महिनाको अवधिमा नेपालले १ खर्बभन्दा बढीको डिजेल आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १ खर्ब १५ अर्ब ६७ करोड रुपैयाँ बराबरको डिजेल आयात गरेको हो । यो अवधिमा ११ लाख ९ हजार ११० किलो लिटर डिजेल आयात भएको छ ।

गत वर्षको वैशाख महिनासम्म नेपालले १ खर्ब २५ अर्ब ३६ करोड बराबरको डिजेल आयात भएको थियो । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा गत आर्थिक वर्षको भन्दा कम डिजेल आयात भएको छ । गत वर्ष नेपालले १० लाख ८६ हजार २३० किलो लिटर डिजेल आयात गरेको थियो । चालु आर्थिक वर्षको १० महिनामा धेरै आयात गरिएको वस्तुको दोस्रो नम्बरमा पेट्रोल रहेको छ । वैशाख मसान्तसम्म नेपालले ५६ अर्ब ८० करोड रुपैयाँको ५ लाख ६७ हजार ९३४ किलोलिटर पेट्रोल आयात गरेको छ । जुन गत वर्षको भन्दा केही बढी हो । गत वर्षको वैशाख मसान्तसम्म नेपालले ५५ अर्ब ७९ करोड बराबरको ५ लाख ५९ हजार ६७ किलो लिटर पेट्रोल आयात भएको थियो ।

त्यस्तै चालु आर्थिक वर्षको १० महिनाको अवधिमा धेरै आयात हुने वस्तुको तेस्रो नम्बरमा एलपी ग्यास रहेको छ । जुन ४६ अर्ब ९८ लाख रुपैयाँ बराबरको ४३ करोड ५९ लाख ६३ हजार केजी ग्यास आयात भएको छ । गत आवको सोही अवधिमा ४९ अर्ब ७२ करोड रुपैयाँको ४२ करोड ८६ लाख ८२ हजार किलोग्राम एलपी ग्यास आयात भएको थियो ।
भन्सार विभागको तथ्यांकअनुसार १० महिनाको अवधिमा लौह उत्पादन तथा फलाम आयस्कजन्य वस्तुको आयात ३१ अर्ब ३१ करोड रुपैयाँको ६५ करोड ८६ लाख ५५ हजार केजी आयात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा केही कम हो । यस्तो वस्तुको आयात गत वर्षको सोही अवधिमा ३४ अर्ब ८१ करोड रुपैयाँ बराबरको ६० करोड ९३ लाख ३८ हजार केजी आयात भएको थियो ।

त्यस्तै यो अवधिमा ३० अर्ब ७० करोड मूल्यको ३५ करोड ८० लाख केजी फ्ल्याट/हट–रोल्ड फलाम/स्टील, कोलिसमा जन्य वस्तुको आयात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा निकै बढी हो । गत वर्षको सोही अवधिमा यस्तो वस्तुको आयात १५ अर्ब २७ करोड बराबरको १७ करोड ३६ लाख केजी आयात भएको छ । गत वर्ष शीर्ष १० भित्र नरहेको यो वस्तुको आयात यो वर्ष शीर्ष पाँचभित्र रहेको छ ।

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा धेरै आयात हुने वस्तुको छैटौं नम्बरमा स्मार्टफोन रहेको छ । १० महिनाको अवधिमा नेपालले २४ अर्बभन्दा बढीको १५ लाख २८ हजार मोबाइल सेट आयात भएको छ । गत आवमा २० अर्ब ४१ करोड बराबरको १३ लाख ९८ हजार बढी मोबाइल सेट आयात भएका थिए ।

यो अवधिमा १ करोड २१ लाख ४० हजार केजी बढीको २२ अर्ब ७६ करोड मूल्यको औषधि जन्य वस्तुको आयात भएको छ । जुन गत आवमा २६ अर्ब ६३ लाख बराबरको १ करोड ५ लाख ५७ हजार केजी औषधिजन्य वस्तुको आयात भएको थियो । त्यस्तै चालु आर्थिक वर्षको १० महिनामा बढी आयात हुने वस्तुको शीर्ष १० भित्र परेको अर्को वस्तु हो सुन । १० महिनाको अवधिमा २१ अर्ब ६५ करोड रुपैयाँको २४ लाख ५१ हजार किलोग्राम सुन आयात भएको छ ।

जुन गत आर्थिक वर्षको तुलनामा परिमाणका हिसावले कम र रकमका हिसाबले बढी हो । गत आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालले २५ लाख ६६ हजार ५८६ किलोग्राम सुन आयात गर्न १९ अर्ब ४० करोडभन्दा बढी रकम खर्च गरेको थियो ।

१० महिनाको अवधिमा नेपालले १९ अर्ब ७२ करोड बढीको १ अर्ब १९ करोड १७ लाख केजी कोइला जन्य वस्तुको आयात भएको छ । गत आवमा २२ अर्ब ८२ लाख बढीको ९२ करोड ६० लाख केजी कोइला जन्य वस्तुको आयात भएको थियो । यो अवधिमा धेरै आयात हुने वस्तुको १० औं नम्बरमा हवाई इन्धन रहेको छ । १० महिनाको अवधिमा नेपालले १७ अर्ब ५८ करोड रुपैयाँ बराबरको १ लाख ५६ हजार किलो लिटर हवाई इन्धन आयात गरेको छ । जुन गत आवको भन्दा कम हो । गत आवको सोही अवधिमा नेपालले १७ अर्ब ६० करोड मूल्यको ५ लाख ९४ हजार किलोलिटर हवाई इन्धन आयात गरेको थियो ।

गत वर्षको १० महिनाको अवधिमा धेरै आयात हुने वस्तुको शीर्ष १० मा सुन, हवाई इन्धन थिएनन् । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा गत वर्ष शीर्ष १० भित्र परेको कच्चा पाम तेलको आयात यो वर्ष १८औँ स्थानमा रहेको छ । जुन गत आवमा २३ अर्ब १९ करोड रुपैयाँको १५ करोड लिटर आयात भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा १० अर्ब २१ करोड रुपैयाँको ८ करोड ७६ हजार लिटर आयात भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal