Skip to content
Prabhu

नेपालको सार्वजनिक ऋण करिब २४ खर्ब पुग्यो, प्रत्येक नेपालीको भागमा ८२ हजार

 

काठमाडौं । नेपालको सार्वजनिक ऋण करिब २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांअनुसार वैशाखसम्म नेपालको सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको हो ।

यो भनेको नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४२ दशमलव ०२ प्रतिशत हो । कुल ऋणलाई नेपालको अहिलेको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ ले भाग गर्दा हरेक नेपालीको भागमा ८२ हजार १८८ रुपैयाँभन्दा धेरै ऋण पर्न आउँछ ।

२३ खर्ब ९७ अर्ब रुपैयाँमध्ये आन्तरिकतर्फ ११ खर्ब ८४ अर्ब र वैदेशिक ऋणको हिस्सा १२ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामै ९८ अर्ब आठ करोड रुपैयाँ ऋण थपिएको छ । वैशाख महिनामा मात्रै ११ अर्ब ६४ करोड रुपैयाँ ऋण थपिएको कार्यालयले जनाएको छ । समग्रमा यो वर्षको १० महिनामा सरकारले २ खर्ब ६४ अर्ब रुपैयाँ ऋण लिएको छ । यो वर्षभरिमा सरकारले ४ खर्ब ५२ अर्ब रुपैयाँ ऋण लिने लक्ष्य राखेको छ ।

यस्तै १० महिनामा सरकारले २ खर्ब ३३ अर्ब रुपैयाँ साँवा र ब्याज समेत भुक्तानी गरेको छ । साउनदेखि वैशाखसम्म १ खर्ब ६६ अर्ब रुपैयाँ सावाँ र ६६ अर्ब ७२ करोड रुपैयाँ ब्याज भुक्तानी गरिएको कार्यालयले जनाएको छ । यो वर्ष सरकारले ऋण तिर्नका लागि ३ खर्ब ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal