Skip to content
Prabhu

वाणिज्य बैंकहरुको खराब कर्जा पौने २ खर्ब, विकास बैंकको १८ अर्ब बढी

काठमाडौं । वाणिज्य बैंकहरुको खराब कर्जा पौने २ खर्ब पुगेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरुको खराब कर्जा १ खर्ब ७५ अर्ब ९९ करोड पुगेको हो । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६६ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरुको खराब कर्जा १ खर्ब ३९ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुलाई ऋण असुल गर्नका लागि निकै समस्या भइरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा २ खर्बभन्दा माथि पुगेको छ । चालु आर्थिक वर्षको चैत मसान्त सम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा २ खर्ब ४ अर्ब २१ करोड नाघेको छ । यस्तो कर्जा गत आर्थिक वर्षको चैत्र मसान्तसम्म १ खर्ब ६३ अर्ब २१ करोड ५५ लाख रुपैयाँ रहेको थियो ।

वित्तीय संस्थाहरुले लगानी गरेको ५१ खर्ब ऋणमध्ये २ खर्बभन्दा बढी ऋण उठाउनमा बैंकहरु असफल देखिएका छन् । बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जाको औसत ३.३४ प्रतिशत पुगेको छ । गत आवको तुलनामा चालु आवको समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा ०.६४ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा विकास बैंकको खराब कर्जा ०.२३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म विकास बैंकहरुको खराब कर्जा १८ अर्ब १० करोड ६३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा विकास बैंकहरुको खराब कर्जा १५ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ रहेको थियो ।

चालु आवको चैत मसान्तसम्म फाइनान्स कम्पनीहरूको खराब कर्जा १० अर्ब १० करोड ९८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूको खराब कर्जा ७ खर्ब ५८ करोड ४७ लाख रुपैयाँ रहेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal