Skip to content
Prabhu

दुई सहकारीमा १६ अर्ब ठगेका केदारनाथले गरे ३३ अर्बको सम्पत्ति शुद्धीकरण

काठमाडौं । शिवशिखर बहुउद्देश्यीय र तुलसी बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको १६ अर्ब रुपैयाँ अपचलन गरेका सञ्चालक केदारनाथ शर्माले त्यसलाई दोब्बरले बढाई शुद्धीकरण गरेको तथ्य भेटिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानबाट यस्तो तथ्य फेला परेको हो ।

उनीहरूविरुद्ध कुल ३२ अर्ब ९० करोड ५२ लाख ५२ हजार रुपैयाँ बिगो दाबी गरिएको छ भने बिगोको दोब्बर जरिवाना दाबी गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

शर्माले भक्तपुरको शिवशिखर सहकारीका बचतकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी र विराटनगरको तुलसी सहकारीको करिब २ अर्ब अपचलन गरेको आरोप छ । देशका विभिन्न ३७ जिल्लामा शाखा विस्तार गरी सहकारी ठगी गरेका उनीविरुद्ध जिल्ला–जिल्लामा मुद्दा चलिरहेको छ ।

उनी, उनकी श्रीमती र अन्य साझेदारहरूले सहकारीको रकम आफ्नो व्यक्तिगत खाता तथा कम्पनीहरूमा सारेर अपचलन गरेको विभागको अनुसन्धानले देखाएको छ ।

त्यो सम्पत्तिमध्ये सबैभन्दा बढी केदारनाथ शर्मा एक्लैले २१ अर्ब ८२ करोड रुपैयाँ शुद्धीकरण गरेको विभागको निष्कर्ष छ । त्यस्तै, उनी र श्रीमती गीता शर्माका नाममा दर्ता भएका कम्पनीमार्फत ९ अर्ब ५६ करोड रुपैयाँ शुद्धीकरण गरिएको देखिएको छ ।

साथै, श्रीमती गीता शर्माले ३२ करोड ३३ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विभागको अनुसन्धानले देखाएको छ । शर्मा दम्पत्तिलाई मुख्य कसुरदार मानी अदालतमा मुद्दा दायर गर्न विभागले जिल्ला सरकारी वकिलको कार्यालय भक्तपुरमा प्रतिवेदन पठाएको छ ।

साथै, उनीहरूलाई कसुरको मात्रा हेरी २ वर्षदेखि १५ वर्षसम्म कैद हुनसक्ने पनि देखिएको छ । उनीहरूलाई थप १० प्रतिशत सजाय तथा शुद्धीकरण गरिएको बिगो जफत गर्नुपर्ने विभागको प्रतिवेदनमा उल्लेख छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal