Skip to content
Prabhu

१० महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन

झापा । भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा  ४ करोड ८६ लाख ६६ हजार सात सय ७४ रुपैयाँ राजस्व संकलन गरेको छ ।
नगरपालिकाले गत आवको सोही अवधिको तुलनामा १ करोड १६ लाख ७२ हजार आठ सय २९ रुपैयाँ रकम बढी राजस्व संकलन गरेको सूचना अधिकारी नेत्रप्रसाद पोख्रेलले बताए । उनका अनुसार गत आवको १० महिनामा भद्रपुर नगरपालिकाले ३ करोड ६९ लाख ९३ हजार ९ सय ४४ रुपैयाँ राजस्व संकलन गरेको थियो ।
नगरपालिकाले चालु आर्थिक वर्षमा ५ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । वैशाख मसान्तसम्म ८८ दशमलव ४९ प्रतिशत राजस्व सङ्कलन गरेको हो । ‘राजस्व सङ्कलनको प्रकृति हेर्दा नगरपालिकाले राखेको राजस्व संकलनको लक्ष्य सहजै भेट्न सकिन्छ,’ सूचना अधिकारी पोख्रेलले भने ।
पुँजीगत खर्च घट्यो
भद्रपुर नगरपालिकाले चालु आवको १० महिनामा  ५१ करोड ७० लाख ५४ हजार छ सय ६९ रुपैयाँ खर्च गरेको छ । नगरपालिकाको कुल बजेटको ५२ दशमलव ६३ प्रतिशत खर्च गर्दा पूँजीगतको तुलनामा चालुतर्फ बढी खर्च भएको छ ।भद्रपुर नगरपालिकाको चालु आवको १० महिनामा पूँजीगत तर्फ ३७ दशमलव ६४ प्रतिशत खर्च भएको छ ।  चालुतर्फ  ६३ दशमलव ०२ प्रतिशत खर्च भएको  नगरपालिकाका सूचना अधिकारी नेत्रप्रसाद पोख्रेलले  जानकारी दिए।
भद्रपुर नगरपालिकाको चालु आवको बजेट संशोधनसहित ९८ करोड २३ लाख ४६ हजार रहेको छ । चालु आवको १० महिनामा गत आवको सोही अवधिको तुलनामा समग्रमा खर्च प्रतिशत दुई दशमलव ११ प्रतिशतले बढे पनि पुँजीगततर्फ एक प्रतिशतले खर्च घटेको नगरपालिकाले जनाएको छ । गत आवको सोही अवधिमा खर्च प्रतिशत ५० दशमलव ५२ रहेको थियो ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal