Skip to content
Prabhu

खानीगाउँमा खानेपानी आयोजना निर्माणसम्पन्न, लागत ३० लाख ५१ हजार

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–१ मा खानीगाउँमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मङ्गला गाउँपालिका र उपभोक्ताको ३० लाख ५१ हजार ७१ रुपैयाँको लागतमा निर्माण भएको आयोजनाबाट ३२ घरपरिवार लाभान्वित भएका छन् ।

नेवाका प्राविधिक गोर्खबहादुर शाहीले स्थानीय विद्यालयमा थप एकवटा सहित ३३ वटा धारा निर्माण गरिएको जानकारी दिए । यसअघि चार–पाँचवटा घरका लागि एउटा धारा बनाइएको थियो । वितरण प्रणाली र मुहान व्यवस्थित नहुँदा खानेपानीको समस्या भएपछि नयाँ खानेपानी आयोजना निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र भण्डारी (राजाराम)ले बताए । मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सीमित स्रोतले पनि सबैले सहजरूपमा खानेपानी उपभोग गर्न पाएका उनले बताए ।

आयोजना निर्माणका लागि नेवाले १४ लाख ३७ हजार ३७ रुपैयाँ, मङ्गला गाउँपालिकाको छ हजार ६९ हजार छ सय ९८ रुपैयाँ र उपभोक्ताको आठ लाख ३५ हजार सात सय ७९ रुपैयाँ बराबरको श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । आयोजनाका लागि थप १ लाख आठ हजार पाँच सय ५७ रुपैयाँ नगद सङ्कलन गरिएको थियो ।

घरघरमा धाराका साथै भाडा माझ्ने जुठेल्ना र सुकाउने पक्की चाङ बनाइएको छ । उपभोक्ता समितिका अध्यक्ष भण्डारीले घरमै नियमित खानेपानी आउन थालेपछि समयको बचत, झन्झट र सास्ती हटेको बताए ।

नेवा संस्थाको सहयोगमा मङ्गला गाउँपालिकाको र्यालेखोर–भाइवाङमा खानेपानी आयोजना निर्माण सकिएको छ भने हिदीमा अर्को आयोजना निर्माणाधीन छ । ९२ लाख २४ हजार ९ सय ८७ रुपैयाँको लागतमा निर्माण भएको र्यालेखोर खानेपानी आयोजनाबाट एक सय परिवार लाभान्वित भएका छन् । हिदीका ६४ घरमा निजी धारासहितको खानेपानी वितरण गर्ने योजना रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal