Skip to content
Prabhu

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै

काठमाडौँ । तीनवटै तहका सरकारी निकायको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणमा आधारित महालेखापरीक्षक कार्यालयको ६१ औं प्रतिवेदन सार्वजनिक भएको छ । आज सार्वजनिक भएको उक्त प्रतिवेदनले हालसम्मको अद्यावधिक बेरुजु र कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ पुगेको जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा मात्रै अद्यावधिक बेरुजु ९५ अर्ब ६० करोड २१ लाख र कारबाही टुङ्गो लगाउनुपर्ने लेखा परीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्नेलगायत रकम १ खर्ब ४० अर्ब ९५ करोड ३० लाख रुपैयाँ बराबर पुगेको छ । अर्थात् गत आर्थिक वर्षमा मात्र २ खर्ब ३६ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ बराबर बेरुजु थपिएको छ । गत आर्थिक वर्षमा महालेखाले तीनवटै तहका पाँच हजार छ सय पाँचवटा निकायको कुल ७८ खर्ब ८१ अर्ब ८० करोड रुपैयाँ बराबर लेखापरीक्षण गरेको थियो ।

महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयमा देखिएको छ । सङ्घीय सरकारी कार्यालयतर्फको कुल बेरुजुमा अर्थ मन्त्रालयको बेरुजु मात्रै ५४ दशमलव ७४ प्रतिशत बराबर देखिएको हो ।

गत आर्थिक वर्ष २०७९÷८० मा अर्थ मन्त्रालयको १७ खर्ब २२ अर्ब ५७ करोड २८ लाख रुपैयाँबराबरको लेखापरीक्षण हुँदा रु असुल गर्नुपर्ने रकम ३ अर्ब ५५ करोड ३२ लाख र नियमित गर्नुपर्ने २१ अर्ब ९२ करोड १५ लाख रुपैयाँ गरी कुल २५ अर्ब ४७ करोड ४९ लाख रुपैयाँ बराबर रहेको छ ।

त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १२ अर्ब नौ करोड ३८ लाख रुपैयाँ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ३ अर्ब १२ करोड ४३ लाख रुपैयाँ, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको १ अर्ब एक करोड ६७ लाख र सहरी विकास मन्त्रालयको ९२ करोड १० लाख रुपैयाँ बराबर बेरुजु देखिएको छ । त्यसैगरी, खानेपानी मन्त्रालयको ७६ करोड ४६ लाख रुपैयाँ, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको ६० करोड ५९ लाख रुपैयाँ, गृह मन्त्रालयको ५४ करोड चार लाख रुपैयाँ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ४० करोड ७७ लाख र परराष्ट्र मन्त्रालयको ३८ करोड ६७ लाख रुपैयाँ बराबर बेरुजु रहेको छ । यी दशवटा मन्त्रालयमा मात्र सङ्घीय सरकारी कार्यालयतर्फको रु ९७ दशमलव ४२ प्रतिशत बेरुजु रहेको छ ।

प्रदेशतर्फ सबैभन्दा धेरै बेरुजु मधेस प्रदेशको देखिएको छ । आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणसम्ममा मधेश प्रदेशको कुल बेरुजु ८ अर्ब ३१ करोड आठ लाख ५८ हजार रुपैयाँ बराबर छ । हालसम्मको बेरुजुको अवस्था हेर्दा कोशी प्रदेशको ५ अर्ब ५८ करोड चार लाख सात हजार रुपैयाँ, बागमतीको ४ अर्ब २८ करोड पाँच लाख ६१ हजार रुपैयाँ, गण्डकीको २ अर्ब ६८ करोड ५५ लाख ४२ हजार रुपैयाँ बराबर छ । त्यस्तै, लुम्बिनीको ४ अर्ब दुई करोड नौ लाख ६९ हजार रुपैयाँ, कर्णालीको ३ अर्ब ९४ करोड ८२ लाख ५४ हजार र सुदूरपश्चिम प्रदेशको २ अर्ब ६८ करोड २९ लाख २९ हजार रुपैयाँबराबर बेरुजु देखिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ ले प्रचलित कानुनबमोजिम पु¥याउनुपर्ने रित नपुर्याई कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको, अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको विषयलाई बेरुजुका रुपमा परिभाषित गरेको छ ।

महालेखापरीक्षक तोयम रायाले महालेखाको ६१ औं प्रतिवेदनबाट विभिन्न आठवटा क्षेत्रमा सुझाव लिइएको बताए । ‘शासकीय प्रबन्ध, सार्वजनिक वित्त व्यवस्थापन, विकास व्यवस्थापन, सार्वजनिक प्रशासन सुधारलगायतका क्षेत्रमा तोकिएबमोजिम परीक्षण, मूल्याङ्कन एवम् विश्लेषण गरी सुझाव प्रस्तुत गरिएको छ’, रायाले भने, ‘मुलुकको समग्र अर्थतन्त्र, सार्वजनिक सम्पत्तिको व्यवस्थापन, सूचना प्रविधि, सुशासनलगायत क्षेत्रहरुमा पनि सुझाव दिइएको छ ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal