Skip to content
Prabhu

कैलालीमा १० महिनामा ६६१ घरेलु तथा साना उद्योग दर्ता

कैलाली । कैलालीमा चालु आर्थिक वर्षको १० महिनामा ६६१ घरेलु तथा साना उद्योग नयाँ दर्ता भएका छन् । १ सय ३० उत्पादनमूलक, २सय ९६ कृषि र २ सय ३५ सेवामूलक गरी ६ सय ६१ घरेलु तथा साना उद्योग दर्ता भएका कार्यालयका लेखा अधिकृत टिकेन्द्रप्रसाद जोशीले बताए।

पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्यरूपमा बढ्दै गएको पाइएको छ । महिलाको नाममा निजी फर्म दर्तामा छुटको व्यवस्था भएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढ्दै गएको कार्यालयले जनाएको छ ।

कैलालीमा हालसम्म १५ हजार चार सय ९६ उद्योग दर्ता भएका छन् । कार्यालयले दिएको जानकारीअनुसार जिल्लामा उत्पादनमूलक तीन हजार दुई सय १५, कृषिमूलक छ हजार पाँच सय १७, निर्माणका दुई, पर्यटनमूलक ६५, सूचना प्रविधि १२, सेवामूलक पाँच हजार छ सय ८५ उद्योग दर्ता भएका छन् । दर्ता उद्योगमध्ये एक सय ३७ उद्योगको दर्ता खारेज भएको जनाइएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार कतिपय उद्योग सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि उद्योग बन्द भएका हुन् । कार्यालयमा गएर आधिकारिक रुपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका ती उद्योग खारेजीमा परेको घरेलु तथा साना उद्योग कार्यालयका लेखा अधिकृत जोशीको भनाइ छ ।

साना उद्योग कार्यालयमा दर्ता भएका १५ हजार चार सय ९६ उद्योगमा रु २५ अर्ब लगानी प्रस्ताव गरिएको छ । यसैगरी चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा घरेलु तथा साना उद्योग कार्यालयले १ करोड ४४ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गरेको उनले बताए ।

गत आर्थिक वर्ष २०७९÷८० मा सो कार्यालयले ५२ लाख १६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । वाणिज्य तथा आपूर्ति कार्यालयले तीन हजार छ सय ७६ व्यावसायिक फर्म घरेलु तथा साना उद्योग कार्यालयलाई हस्तान्तरण गरेका कारण गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा राजस्व सङ्कलनमा वृद्धि भएको जनाइएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal