Skip to content
Prabhu

‘सेयर बजार आफैं लयमा आउँछ, अर्थमन्त्रीसँगको विश्वास टुट्यो’

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट मंगलबार संसद्मा प्रस्तुत ग¥यो । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे। १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरियो ।

बजेटमार्फत पुँजी बजारमा देखिएको समस्याको सम्बोधन हुने आशा गरेर बसेका सरोकारवालाहरुले भने सुधारका कुनै अनुभव गर्न पाएनन् । बजेट नियमित प्रक्रियामा आएको र त्यसले पुँजी बजारका लागि खासै उत्साह नथपेको लगानी कर्ता तथा ब्रोकरहरुले बताएका छन् । बजेटबाट पुँजी बजारमा सुधारका लागि निकै आशा गरिएको भए पनि त्यो अनुसारको कार्यक्रम आउन नसकेको सेयर बजार लगानी कर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन् । यो पटकको बजेटमा पनि यस अघिका बजेटको जस्तै थोरै आश्वासन मात्रै आएको उनले बताइन । ‘यो बजेटमा पुँजी बजारका विषयमा कपि पेस्ट नै भन्नुपर्छ । बजेटले नेप्सेको सुधार गरिने छ, धितोपत्र बोर्डमा शुसासन कायम गरिने भन्ने बाहेक केही ठोस कुरा ल्याएको छैन,’ उनले भनिन् ।

अहिलेका अर्थमन्त्रीसँग लगानीकर्ताहरुले धेरै आशा गरेका र मन्त्री पनि सकारात्मक रहेको अवस्थामा समेत बजेटले समेट्नुपर्ने विषय समेट्न नसकेको उनको भनाइ छ । पुँजी बजारको सुधारका लागि ठोस कुरा आउनुपर्ने भए पनि गरिनेछ भन्ने कुरा मात्रै समावेश छ । यसबाट कुनै पनि आश गर्न सक्ने अवस्था नरहेको उनको तर्क छ ।

लगानी कर्ताहरुसँग सुझाबहरुसमेत मागिएको छ र त्यसलाई बजेटमा कतै पनि सम्बोधन नगरिएको उनले बताइन् । ‘सरकार सधैं सेयर लगानीकर्ताका विषयमा अनुदार देखिन्छ । यो क्षेत्रका लागि दोहोरो अर्थ लाग्ने नीतिहरु मात्रै ल्याउने गरेको छ,’ उनले भनिन् ।

अहिले बैंकको ब्याजदर पनि घटेको र बैंकबाट पैसा पाउनका लागि पनि सहज रहेको अवस्थामा सरकारले लिएको नीतिकै कारण सेयर बजार घटेको उनको भनाइ छ ।

अहिले लगानीकर्ताहरुले करको विषयलाई सम्बोधन गर्नु पर्ने कुरामा बढी जोड दिएका थिए । तर, त्यो विषय कतै पनि समावेश भएको छैन । ‘करको विषयमा सधैँ विवाद भइरहने गरेकाले यसलाई समाधानका लागि पहल गर्नु पर्ने आवश्यकता थियो । तर, बजेटले त्यस विषयमा कतै पनि बोलेको छैन,’ उनले भनिन् ।

लाभकरको विषय पनि लगानीकर्ताले सुझाब दिएका थिए । तर, त्यसमा पनि कुनै सुनुवाइ नभएको लगानी कर्ताहरुको गुनासो छ । ‘सेयरधितो कर्जामा लगाएको १५ देखि २० करोड रुपैयाँको सीमा खारेज गर्नुपर्ने माग पनि लगानीकर्ताका थियो । तर, त्यो विषयमा पनि बजेटले कतै बोलेको देखिएन,’ पोखरेलले भनिन् । लगनीकर्ताहरुलाई बजारबाट विस्थापित गर्ने किसिमको बजेट आएको उनको आरोप छ ।

अर्थमन्त्रीसँगका सबै जसो भेटहरुमा निकै सकारात्म प्रतिक्रिया आएको भए पनि बजेटमा सम्बोधन नहुँदा लगानीकर्तामा निराशा छाएको उनको भनाइ छ । अब अर्थमन्त्रीसँगको विश्वास टुटेको पोखरेलले बताइन । अब बजार आफै लयमा फर्किने पनि उनको दाबी छ । ‘अब बजार आफंै लयमा फर्किन्छ । अर्थमन्त्रीसँगको हाम्रो विश्वास टुटिसक्यो,’ उनले भनिन् ।

आगामी आर्थिक वर्षको बजेट खासै उत्साहित हुने किसिमको नआएको नेपाल धितोपत्र दलाल संघकी उपाध्यक्ष सरिता अधिकारीले बताइन । नियमित प्रक्रियामा बजेट आएको र पुँजी बजारका समस्याका विषयमा बजेटले खासै नबोलेको उनको भनाइ छ ।

‘यो बजेटलाई औषत मान्नु पर्छ । धेरै उत्साहित हुनुुपर्ने र केही पनि भएन भनेर हतास हुनु पर्ने अवस्था पनि केही छैन,’ उनले भनिन् । बुधबार र बिहीबारको सेयर बजार घट्नुको कारण बजेटलाई मात्रै मान्न नसकिने उनले बताइन् । बजार बढ्ने र घट्ने कुरा नियमित प्रक्रिया भएकाले बजेटका कारण बढेको र घटेको भन्न नमिल्ने उनको तर्क थियो । सेयर बजार बढाउने कुरा लगानीकर्ताका भएको उनको भनाइ थियो । ‘आज पनि सुरुमा बजार बढेको थियो । त्यस पछि निरन्तर घटबढ भइरहेको थियो । अन्तिममा बजार घट्यो । यो सामान्य प्रक्रिया हो,’ उनले भनिन् । बजार अर्थमन्त्रीको बजेट भाषणभन्दा पनि लगानीकर्ताले अघि बढाउनुपर्ने उनको भनाइ छ ।

 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal