Skip to content
Prabhu

जीवन बिमा कम्पनीको व्यवसाय १ खर्ब २१ अर्ब बढी, कुन कम्पनीले कति बिमा शुल्क आर्जन गरे ?

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनासम्म जीवन बिमा कम्पनीहरुले १ खर्बभन्दा बढीको व्यवसाय गरेका छन् । सञ्चालनमा रहेको १४ वटा जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १ खर्ब २१ अर्ब ३५ करोड ९५ लाख रुपैयाँको व्यवसाय गरेका हुन् ।

बिमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बिमा कम्पनीहरुले वैशाख महिनासम्म १ करोड ३९ लाख १ हजार ५८१ सक्रिय बिमालेखमार्फत १ खर्ब २१ अर्ब बढीको बिमा शुल्क आर्जन गरेका हुन । १४ जीवन बिमा कम्पनीले यो अवधिसम्म नवीकरणबापत ९७ अर्ब १२ करोड र नयाँ मार्फत २४ अर्ब २३ करोड रुपैयाँ बढीको बिमा शुल्क आर्जन गरेका छन् ।

प्राधिकरणको तथ्यांकअनुसार वैशाख मसान्तसम्म सबैभन्दा बढी बिमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीले वैशाख महिनासम्मको अवधिमा ३२ अर्ब ३८ करोड १६ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । यो कम्पनीले वैशाख महिनासम्म १३ लाख ४४ हजार ५ सय ३२ बिमालेख जारी गरेको छ । धेरै व्यवसाय गर्ने बिमा कम्पनीको दोस्रो नम्बरमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १४ अर्ब ३३ करोड बढीको बिमा शूल्क आर्जन गरेको छ । यो कम्पनीले वैशाख महिनासम्म १६ लाख ८ हजार ८०९ बिमा लेखमार्फत १४ अर्ब ३३ करोड १४ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ ।

त्यस्तै धेरै बिमा व्यवसा गर्ने कम्पनीको तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशनले १४ अर्ब २३ करोड बढीको व्यवसाय गरेको छ । यो कम्पनीले वैशाख महिनासम्म ६ लाख ८२ हजार ८० बिमालेख जारी गरेको छ । ती बिमालेखमार्फत कम्पनीले १४ अर्ब २३ करोड ५९ लाख रुपैयाँको बिमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै हिमालयन लाइफ इन्स्योरेन्सले वैशाख मसान्तसम्म ३ लाख ९१ हजार ४ सय ४२ बिमालेखमार्फत १३ अर्ब ५१ करोड रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । यता सूर्य ज्योति लाइफले यो अवधिमा ९ लाख ६३ हजार ७४३ बिमालेख जारी गर्दै ७ अर्ब २७ करोड ४० लाख रुपैयाँको व्यवसाय गरेको छ ।

त्यस्तै चालु आवको वैशाख महिनासम्ममा एशियन लाइफले ६ लाख ५८ हजार ४५९ बिमालेख जारी गर्दै ६ अर्ब ३८ करोड ७० लाख रुपैयाँको बिमा शुल्क आर्जन गरेको छ । यता सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले १० महिनासम्मको अवधिमा ५ लाख ६७ हजार ४८८ बिमालेख जारी गर्दै ५ अर्ब ७६ करोड ७१ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

त्यस्तै सिटिजन लाइफले १२ लाख १८ हजार ९ सय ७७ वटा सक्रिय बिमालेखमार्फत ४ अर्ब ७९ करोड १४ लाख रुपैयाँको बिमा व्यवसाय गरेको छ । त्यस्तै यो अवधिसम्म मेटलाइफ इन्स्योरेन्स कम्पनीले ८ लाख ७३ हजार ६ सय ५६ बिमालेखमार्फत ४ अर्ब ५७ करोड ५४ लाख रुपैयाँको बिमा शुल्क संकलन गरेको छ । यो अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ बराबरको बिमा व्यवसाय गरेको छ । यो अवधिसम्म कम्पनीले ८ लाख २६ हजार २ वटा सक्रिय जीवन बिमालेख जारी गरेको छ ।

त्यस्तै रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले वैशाख महिनासम्मको अवधिमा ३१ लाख ४३ हजार ८२७ बिमालेखमार्फत ३ अर्ब ३४ करोड ७५ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । यता सानिमा रिलायन्स लाइफले पनि यो अवधिसम्म ४ अर्ब ६९ करोड ४२ लाख रुपैयाँको व्यवसाय गरेको छ । यो कम्पनीले ९ लाख ५५ हजार ८ सय ३२ सक्रिय बिमालेखमार्फत सो बराबरको रकम संकलन गरेको हो ।

त्यस्तै प्रमु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि वैशाख मसान्तसम्म ४ अर्ब ४१ करोड ५८ लाख रुपैयाँ बराबरको १ लाख ७४ हजार १०१ वटा बिमालेख जारी गरेको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले यो अवधिमा ११ लाख ७० हजार ७५२ बिमालेख मार्फत ३ अर्ब ६५ करोड ६ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal