Skip to content
Prabhu

साताको सेयरः परिसूचक झन्डै ३ प्रतिशतले घट्यो, बजेटपछि लगातार ओरालो यात्रामा सेयर बजार

 

काठमाडौं । यो साता सेयर बजारमा झन्डै ३ प्रतिशतको गिरावट आएको छ । यो साता सेयर बजार परिसूचक (नेप्स) २.९ प्रतिशते घटेको हो ।

गत साता ५.६ प्रतिशतले बढेको नेप्से २१३१ अंकमा रहेको थियो । यो साताको कारोबार बन्द हुँदा नेप्से २०६९ दशमलव ५३ विन्दुमा पुगेर बन्द भएको छ । यो साताको चार कारोबार दिनमध्ये एक दिन मात्रै सेयर बजार बढेको थियो । बाँकी ३ दिन सेयर बजार दोहोरो अंकले घटेको थियो । यो साताको पहिलो दिन आइतबार नै सेयर बजार परिसूचक २२ दशमलव १४ अंकले घटेको थियो । यो सातामा नेप्से सोमबार मात्रै बढेको थियो । त्यो दिन नेप्सेमा ३ दशमलव ९३ अंकको सुधार भएको थियो ।

यो साताको मंगलबार सार्वजनिक बिदा थियो । त्यो दिन सरकारले आगामी आर्थिक वर्षको बजेटसमेत सार्वजनिक गरेको थियो । बजेट सार्वजनिक भए पछिको दुई दिन लगातार रूपमा सेयर बजार दोहोरो अंकले घटेर बन्द भयो । बजेट सार्वजनिक भएको भोलिपल्ट बुधबार सेयर बजार परिसूचक २३ दशमलव ८१ अंक र साताको अन्तिम कारोबार दिन बिहीबार १९ दशमलव ८९ अंकले घटेर बन्द भयो ।

बजार घटे पनि यो साता कारोबार रकममा भने सुधार देखिएको छ । साताको पहिलो दिन आइतबार सेयर बजारमा ४ अर्ब ४४ करोड बढीको कारोबार भएको थियो । सोमबार पनि ३ अर्ब ८९ करोडको कारोबार भएको सेयर बजारमा बुधबार ४ अर्ब ५७ करोड बढीको कारोबार भएको थियो । साताको अन्तिम दिन बिहीबार पनि सेयर बजारमा ४ अर्ब २१ करोडको कारोबार भएको थियो ।

यो साता बैंकिङ समूहको सेयर मूल्यमा उच्च गिरावट आएको छ । बैंकिङ समूहमा यो साता ६.१२ प्रतिशतको गिरावट आयो । गत साता भने यो समूह १३.४ प्रतिशतले बढेको थियो ।

त्यस्तै यो साता उत्पादन समूह सेयर मूल्य सबैभन्दा धेरैले बढेको छ । यो समूहको सेयर मूल्य ३.८४ प्रतिशतले बढेको छ । गत साता यो समूह सेयर मूल्य १.१६ प्रतिशत मात्रै बढेको थियो ।

त्यस्तै विकास बैंक समूहको सेयर मूल्यमा २.६४ प्रतिशतले घटेको छ भने फाइनान्स समूहको सेयर मूल्य गत साताको भन्दा ०.५० प्रतिशतले घटेको छ । त्यस्तै हाइड्रोपावर समूहको सेयर मूल्यमा पनि यो साता ०.९९ प्रतिशतले घटेको छ । जीवन बिमा समूहको सेयर मूल्य २.८१ प्रतिशत, निर्जीवन बिमा समूहको सेयर मूल्यमा २.२४ प्रतिशत, माइक्रोफाइनान्स समूहको सेयर मूल्यमा ४.९७ प्रतिशतले गिरावट आएको छ ।

त्यस्तै यो साता लगानी समूहको सेयर १.६३ प्रतिशत, अन्यको १.७४ प्रतिशत र व्यापारको ०.६५ प्रतिशतले घटेको छ । यो साता होटल तथा पर्यटन समूहको सेयर मूल्य भने गत साताको भन्दा सामान्य बढेको छ । होटल तथा पर्यटन समूहको सेयर मूल्यमा १.४० प्रतिशतले वृद्धि भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal