Skip to content
Prabhu

रघुगङ्गा गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा ३८ कृषकलाई हाते ट्र्याक्टर वितरण

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ का कृषकलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्र्याक्टर (मिनिटेलर हलो) वितरण गरिएको हो ।

वडा कार्यालयको ‘कृषि प्रवर्द्धन’ वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत ३८ कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको वडाध्यक्ष खिमबहादुर शाहीले जानकारी दिए । वडा कार्यालयले माग गरेका कृषक र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर उपलब्ध गराएको उनले बताए ।

‘ ४० हजार रुपैयाँ मूल्यका हाते ट्र्याक्टरमा कृषक र गाउँपालिकाले २०÷२० हजार रुपैयाँको दरले साझेदारी भएको छ, छिट्टै व्यावसायिक रुपमा तरकारी खेती गर्ने कृषकलाई प्लाष्टिक टनेलसमेत अनुदानमा वितरण गर्ने योजना बनाएका छौं’, वडाध्यक्ष शाहीले भने । शुक्रबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष शाही, वडा सदस्य जितबहादुर खत्री, आइती दर्जीलगायतले कृषकलाई हाते ट्र्याक्टर वितरण गरे ।

यस वर्ष कृषि प्रवर्द्धन कार्यक्रमअन्तर्गत आठ लाख ५० हजार रुपैयाँमा ३८ कृषकलाई हाते ट्र्याक्टर र २५ कृषकलाई प्लाष्टिक टनेलमा ५० प्रतिशतको दरले अनुदान दिएको वडा कार्यालयले जनाएको छ । गाउँघरमा गोरु पाल्ने चलन हराएर जान थालेको र खेतबारी जोत्न समस्या भएको अवस्थामा वडा कार्यालयले अनुदानमा हाते ट्र्याक्टर दिएपछि राहत मिलेको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका कृषक सुरतबहादुर चन्दले बताए ।

‘गोरु पाल्नै छाडे, हलो जुवा बनाउने सीप पनि हराएर जान थालेको छ, महिलाहरुले समेत जोत्न मिल्ने भएकाले हाते ट्र्याक्टर उपयोगी छ, हिउँदे र बर्खे खेती लगाउन हाते ट्र्याक्टरबाट सहज हुन्छ’, उनले भने । म्याग्दीमा पछिल्लो समय खेती किसानीको काममा परम्परागत रुपमा गोरुले खेतबारी जोत्ने चलन हराएको छ भने हाते ट्र्याक्टरलगायतका यान्त्रिक उपकरणको प्रयोग बढ्दो छ ।

हाते ट्र्याक्टरले छोटो समयमा धेरै खेतबारी जोत्न सकिने भएकाले समयको बचत हुने र गोरु पाल्नुपर्ने झन्झट नहुने पिप्लेका कृषक प्रकाश शर्माले बताए । सडक सञ्जालको पहुँच विस्तार भएसँगै जिल्लाको ग्रामीण भेगमा खेतबारी जोत्ने काममा हाते ट्र्याक्टरको प्रयोग बढ्दै गएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal