Skip to content

वालिङमा ‘कृषि विकास परियोजना’ सञ्चालन

nabil bank

स्याङ्जा । स्याङ्जाको वालिङमा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई उद्यमशील बनाउने उद्देश्यले ‘कृषि विकास परियोजना’ सञ्चालन गरिएको छ । वालिङका विपन्न र न्यून आय भएका परिवारलाई आयआर्जनसँग जोड्दै गरिबी निवारण गर्ने उद्देश्यसहित परियोजनाको सुरुआत गरिएको हो ।

वालिङ नगरपालिका, हेफर प्रोजेक्ट नेपाल र दियालो संस्थाको सहकार्यमा परियोजना गत वैशाख अन्तिम सातादेखि सुरु भएको हो । कृषि विकास परियोजनामार्फत विशेषगरी कृषि र पशुका माध्यमबाट नगरवासीको आर्थिक स्तरमा सुधार ल्याउने योजना पालिकाको रहेको नगरप्रमुख कृष्ण खाँणले बताए ।

‘कृषि विकास परियोजनामार्फत कृषि र पशुका माध्यमबाट न्यून आय भएका नगरवासीको आर्थिक स्तर सुधार्न सक्ने गरी योजना बनाएका छौँ’, उनले भने, ‘यसको कार्यान्वयनका लागि अगाडि बढिसकेका छौँ, छिट्टै नै उपलब्धिहरु देखिन थाल्नेछन् ।’

परियोजनाले बैंकसँगको सहकार्यमा सहुलियत दरमा कर्जा प्रवाह गर्ने छ । कृषि उत्पादन र बजारीकरण, युवामा कर्जा प्रवाह, फरक क्षमता भएका व्यक्तिहरुको आयआर्जनमा परियोजनाले सहयोग गर्ने नगरप्रमुख खाँणले बताए ।

नगरका १४ वटा वडामध्ये पहिलो चरणमा सातवटा वडाका न्यून आय भएका घर पहिचान गरी काम अगाडि बढाइने हेफर प्रोजेक्ट नेपालका कार्यक्रम प्रबन्धक प्रेम साम्वयुले बताए । परियोजनामार्फत विपन्न तथा न्यून आय भएका महिला र युवा लक्षित कार्यक्रम सञ्चालन हुने उनको भनाइ छ ।

परियोजना सञ्चालनका लागि ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको भन्दै कार्यक्रम प्रबन्धक साम्वयुले यसको अवधि २६ महिना रहेको जानकारी दिए । उनका अनुसार परियोजनामा वालिङ नगरपालिकाको ७० प्रतिशत र हेफर प्रोजेक्टको ३० प्रतिशत लागत साझेदारी रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime