Skip to content
Prabhu

पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पा स्मृति ग्यालरी स्थापना

nabil

काठमाडौं । राष्ट्रिय विभूति एवं सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला आरोही पासाङ ल्हामु शेर्पाको स्मृति ग्यालरी स्थापना गरिएको छ । शेर्पाको जीवनकालका काम र उपलब्धिलाई स्मरण गर्ने लक्ष्यका साथ सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा ग्यालरीको स्थापना गरिएको हो ।

पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको अगुवाईमा निर्माण गरिएको उक्त ग्यालरीको आइतबार उद्घाटन गरिएको छ । लामाविधिबाट पूजापाठ गरी खुम्बु पासाङल्हामु गाउँपालिका ४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले ग्यालरीको उद्घाटन गरेका हुन् । प्रतिष्ठानका महासचिव छेटु शेर्पाका अनुसार ग्यालरीमा राष्ट्रिय विभुति शेर्पाको सन् १९६१ देखि सन् १९९३ सम्मको जीवनकालको गतिविधिसँगै विभिन्न हिमाल आरोहणको ऐतिहासिक तस्वीरलाई समेटिएको छ ।

शेर्पाले गरेको लैङगिक समानता र नेतृत्वको भावलाई सरकारले गरेको सम्मान र उपलब्धिहरु समेत ग्यालरीमा समावेश गरिएको महासचिव शेर्पाको भनाइ छ । उनको जन्मस्थल रहेको गाउँपालिका खुम्बुमा भविष्यमा पासाङ ल्हामु म्युजियमको स्थापना गर्ने लक्ष्यसहित उक्त कार्यका लागि सुरुवाती चरणको कामका लागि ग्यालरीको स्थापना गरिएको प्रतिष्ठानले जनाएको छ ।

उद्घाटनकै दिन स्वदेशी तथा विदेशी गरी ५०० बढी पर्यटकहरुले ग्यालरीको अवलोकन गरेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले लुक्लासँगै पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रालयमा पनि पासाङ ल्हामुको ग्यालरी स्थापना गर्ने तयारी गरिरहेको छ । शेर्पाले सन् १९९३ अप्रिल २२ का दिन पहिलो पटक नेपाली महिलाको तर्फबाट सगरमाथाको आरोहण गरेकी थिइन । ग्यालरीमा राष्ट्रिय विभूति शेर्पाको सम्पूर्ण जानकारीसँगै सगरमाथा आरोही नेपाली महिलाहरु र प्रख्यात महिला आरोहीहरुको जानकारीहरु समेत समावेश गरिएको छ । हालसम्म ६१ जना नेपाली महिलाले सगरमाथाको आरोहण गरी सकेका छन् ।

पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले नेपालमै पहिलो पटक इन्डोर वाल क्लाइम्विङ सेन्टर स्थापना गरी पर्वतारोहण क्षेत्रको प्रबर्द्धन र लुक्लामा पासाङ ल्हामु निकोल निकी अस्पताल स्थापना गरी सेवामुलक कार्य गर्दै आएको छ । यता महिला पर्वतारोहीहरुका लागि जीविकोपार्जनसम्बन्धी तालिम तथा क्षमता अभिवृद्धि र हिमाली क्षेत्रका महिला तथा वालवालिकाहरुका लागि शिक्षा स्वास्थ्यको क्षेत्रमा सेवामुलक कार्य गर्दै आएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal