Skip to content
Prabhu

बजेट बढी महत्वकाङ्क्षी भयो, कार्यान्वयनमा चुनौती’

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बजेट बढी महत्वकाङ्क्षी भएको भन्दै कार्यान्वयनमा चुनौती देखिएको टिप्पणी गरेका छन् । आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसद पूजा चौधरीले बजेट बढी महत्वकाङ्क्षी भएको टिप्पणी गरे । बढ्दो महँगीमा कर्मचारी तलब वृद्धि हुनुपर्ने भन्दै उनले तलब वृद्धिका लागि सरकारको ध्यानाकर्षण गराए।

सांसद तुलप्रसाद विश्वकर्माले पहिलेको तुलनामा यस पटकको बजेटले जनतामा केही आशा जगाउँदै नयाँपन ल्याएको टिप्पणी गरे। आगामी वर्षलाई कृषि दशक भनिए पनि कृषिमा बजेट घटेर आएको उनको भनाइ छ । उनका अनुसार बजेटले वैदेशिक ऋणलाई घटाउँदै लैजानुपर्ने छ ।

सांसद अन्जान शाक्यले समग्रमा बजेट सन्तुलित र यर्थाथपरक रहेको टिप्पणी गरे । ‘निजी क्षेत्रका लागि आवश्यक रकम कसरी जुटाउने ?’, उनले प्रश्न गर्दै भने, ‘विभिन्न नीतिगत कारण बैँक, वित्तीय संस्थाले निजी क्षेत्रलाई कर्जा विस्तार गर्न नसकेको अवस्था छ ।’

सांसद नरबहादुर विष्टले औषधिजन्य प्रयोजनका लागि गाँजाखेती गर्ने प्रतिबद्धतालाई कानुनी रुपमा लागु गर्ने गरी अगाडि बढाउनुपर्नेमा जोड दिए । सांसद पदमबहादुर परियारले समग्रमा बजेटले सबै क्षेत्रलाई समान रुपमा समावेश गरेको टिप्पणी गरे । सांसदहरु सोनाम गेल्जेङ शर्पा र गोमादेवी तिमिल्सीनालगायतले बजेट जनताकेन्द्रित भए पनि कार्यान्वयनमा चुनौतीपूर्ण रहेको बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal