Skip to content

हाते तानमा बुनेका अल्लो र ढाका विदेश निर्यात

nabil bank

म्याग्दी । जिल्लाका महिला उद्यमीले हाते तानमा बुनेर तयार पारेका अल्लो र ढाकाका कपडा विदेश निर्यात हुने गरेको छ । यहाँका महिलाले अल्लो र ढाकाबाट तयार पारेका टोपी, पछ्यौरा, रुमाल, पर्स, झोलालगायत सामग्री विदेश निर्यात गरी मनग्य आम्दानी गर्न थालेका हुन् ।

बेनी नगरपालिका–७ मङ्गलाघाटकी लीला पुनले अल्लो र ढाकाबाट टोपी, पछ्यौरा, रुमाल, पर्स, झोलालगायत विदेशमा पठाएर यस वर्ष १५ लाख रुपैयाँ आम्दानी भएको जानकारी दिइन् । उत्पादित कपडाको अष्ट्रेलिया, जापान, लण्डन, हङ्कङ, दक्षिण कोरिया, अमेरिकालगायत युरोपका देशबाट नियमित माग हुने गरेको उनको भनाइ छ ।

विदेशमा रहेका नेपालीको रोजाइमा ढाकाबाट बनेका विभिन्न किसिमका सामग्री पर्न थालेपछि महिला उद्यमी पुनलाई भ्याइनभ्याइ छ । स्वदेश तथा विदेशबाट आउने मागअनुसार उत्पादन गर्न नसकिएको भन्दै जिल्लाका अन्य उद्यमीबाट समेत खरिद गरी विदेश पठाउने गरेको उनले बताए।

पुनले स्वदेशमाभन्दा धेरै विदेशमा बसोबास गर्ने नेपालीले बढी किन्ने गरेका जानकारी दिए । ‘माग थेग्नै सकिँदैन, अहिले अल्लो र ढाकाबाट निर्मित सामग्रीलाई बजारको अभाव छैन’, उनले भने । उनले ग्राहकको रोजाइअनुसार ढाकाका कपडा तयार गर्न सकेमा घरमै खरिद गर्न आउने बताइन्।

अठार वर्ष पहिला भकिम्ली हाल बेनी–३ बाट रोजगारीको खोजीमा सदरमुकाम बेनी आएकी पुन जिल्लाकै सफल उद्यमी बनेकी छन् । विदेशमा ढाकाको कपडाको माग बढेसँगै आम्दानी समेत बढेको पुनको भनाइ छ । ‘विदेशमा नेपाली उत्पादन भनेर प्रचारप्रसार भइरहेको छ, अहिले कोसेली दिन पनि अल्लो र ढाकाकै कपडाबाट बनेका सामग्री प्रयोग हुन्छन्’, उनले भने।

पुनले मागअनुसारको उत्पादन नभएपछि जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर नयाँ उद्यमीलाई सीप सिकाउँदै आएको जानकारी दिए । ढाकासँगै अल्लोका कपडा बिक्री गर्ने पुनले सीप, जाँगर र उद्यमीको परिचय दिन चाहनेलाई निःशुल्क तालिम दिने बताइन्।

‘पैतलादेखि शिरसम्म लगाउन मिल्ने कपडा हाते तानबाट बुन्दै आएको छु’, पुनले भनिन्, ‘तानमा बसेपछि समय बितेको पत्तै हुँदैन । अहिले प्रशिक्षणका लागि पनि माग आउने गरेको छ ।’ अहिलेसम्म दुई हजारभन्दा बढी उद्यमीलाई अल्लो र ढाकाको प्रशिक्षण दिएको उनले जानकारी दिइन्। ‘जिल्लामा अल्लो र ढाकाका कपडा बुन्न ३० जना उद्यमी सक्रिय छौं । वार्षिक १ करोडभन्दा बढीका कपडा विदेश निर्यात गरिरहेका छौँ’, उनले भनिन्।

पुनबाहेक नेकसरा पुन, दिलु घताने, विष्णु गुररुङलगायतले ग्रामीण क्षेत्रका साथै विभिन्न स्थानीय तहमा पुगेर तालिम दिन थालेपछि उद्यमीको सङ्ख्या बढेको उद्यमी दिल घतानेले बताए । अल्लो र ढाकाको उत्पादन बिक्री गर्ने महिला आर्थिक रूपमा सम्पन्न हुँदै गएका उनको भनाइ छ ।

महिला उद्यमीका अनुसार वार्षिक १ करोडभन्दा बढी विदेशबाटै कमाइ हुने गरेको छ । बलियो, टिकाउ, जाडोमा न्यानो र गर्मीमा शीतल हुने भएकाले महँगो भए पनि अल्लो र ढाकाबाट उत्पादिन वस्तुको माग बढ्दै गएको उनीरुको भनाइ छ ।

जिल्लास्थित प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामीले विदेशमा रहेका म्याग्देलीले ढाका र अल्लोका कपडाको बजारीकरण तथा प्रयोगमा सघाइरहेका बताए । उनले अल्लोको कोटपाइन्ट, टोपी, सारीको प्रयोग गरी सार्वजनिक कार्यक्रममा सहभागिता जनाउने गरिएको जानकारी दिए ।

रोजगारी, पेसा र व्यवसायको सिलसिलामा विश्वका विभिन्न देश पुगेका म्याग्दीवासीले आफ्नो जन्मथलोको पहिचानका रुपमा अल्लो र ढाकाको कपडा प्रयोग गर्न थालेका हुन् । ‘विदेशमा रहेका म्यादेलीले चाडपर्व र सभासमारोहमा ढाका र अल्लोबाट निर्मित कपडाको पहिरन प्रयोग गर्न थालेकाले यसको माग बढेको हो’, उद्यमी पुनले भने ।

उच्च पहाडी क्षेत्रमा पाइने अल्लो पुवालाई प्रशोधन गरेर बनाइएको धागो र ढाकाबाट साडी, सल, कुर्था, गलबन्दी, रुमाल, पर्स, चोलो, टोपी बनाउन सकिन्छ । यहाँको कला, सीप र पहिचानलाई अन्तर्राष्ट्रियकरण गरी प्रवर्द्धन गर्न मोनाले सघाएको उद्यमीहरुले बताएका छन् ।

एक मिटर ढाका र अल्लोको कपडालाई ६ सयदेखि १ हजार रुपैयाँ पर्दछ । एक जनाले एक दिनमा एक मिटरसम्म कपडा बुन्न सक्छन् । पहिला सादा कपडा बुन्दै आएका उद्यमीले पछिल्लो समय ग्राहकको मागअनुसार रङ्गीन र बुट्टेदार कपडासमेत बनाउन थालेका छन् ।

उद्यमीहरुलाई लघुउद्यम विकास कार्यक्रम, घरेलु तथा साना उद्योग विकास समिति, वन डिभिजन कार्यालय, गरिबी निवारण कोषलगायत निकायले सीपमूलक तालिम, औजार र प्रविधिको सहयोग गरिरहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime