Skip to content
Prabhu

सोलुखुम्बुको हुगा खोलाको बेलिब्रिज निर्माणमा लापरबाही

सोलुखुम्बु । सोलुुखुम्बुको महाकुलुङ गाउँपालिकाको हुगा खोलामा ‘बेलिब्रिज’ निर्माणमा लापरबाही भएको पाइएको छ । महाकुलुङ गाउँपालिका–१ बुङदेखि वडा नम्बर ४ र ५ गुदेल जोड्ने पुलको अनुगमनका क्रममा लापरबाही भएको पाइएको सो गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङले जानकारी दिए ।

पुल प्रयोगमा नआउँदै संरचना बाङ्गिएको गुनासो आएपछि अनुगमन गरिएको र निर्माणकै क्रममा गम्भीर लापरबाही भएको पाइएको उनले बताए । ‘पुल निर्माणका क्रममा नै पुल बाङ्गो भएको रहेछ, जानकारी आएपछि स्थलगत निरीक्षण गर्यौँ’, उनले भने । उनले पुल निर्माणमा मापदण्ड पालना नभएको बताए ।

गाउँपालिका अध्यक्ष कुलुङ, प्रमुख प्रशासकीय अधिकत नवीनकुमार गोलेका साथै इञ्जिनियर, सबइञ्जिनियरसहित टोलीले पुलको भार परीक्षण गरेको थियो । कुल ३६ मिटर लम्बाइ र ४ दशमलव २५ मिटर चौडाइ रहेको पुलको भारवहन क्षमता ४० टनको छ ।

पुल २ करोड ५८ लाखको लागतमा माछापुच्छ्रे कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको हो । पुलमा निर्माणमा अरुण बेली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले रु १५ लाख उपलब्ध गराएको सो कम्पनीका प्रबन्धक हस्तमान कुलुङले जानकारी दिए ।

पुलमा समस्या देखिएपछि निर्माण कम्पनीलाई ध्यानाकर्षण गराइएको अध्यक्ष कुलुङले जानकारी दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal